२०८२, भाद्र १० गते

Aug 26 2025 | २०८२, भाद्र १० गते

कोहलपुरमा यातायात सेवा कार्यालयको माग, मुख्यमन्त्री र यातायात मन्त्रीलाई ज्ञापनपत्र

आइतवार , भाद्र ९, २०८१

  • 694
    Shares
  • 694
    Shares
  • दाङ, ९ भदौ ।
    बाँकेको कोहलपुरमा यातायात व्यवस्थाको सेवा कार्यालय स्थापना गर्न माग राख्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानेलाई ज्ञापनपत्र बुझाइएको छ । प्रतिनिधि सभा सदस्य सूर्यप्रसाद ढकालको नेतृत्वमा जनप्रतिनिधिसहित स्थानीय राजनीतिककर्मीसहितको सर्वदलीय सर्वपक्षीय टोलीले मुख्यमन्त्री आचार्य र यातायात मन्त्री न्यौपानेलाई ज्ञापनपत्र बुझाएको हो । 

    कोहलपुरमा यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टर मात्रै रहेको तर, त्यहाँबाट नेपालगञ्ज सवारीसाधन अनुमतिपत्रको लागि जानुपर्ने बाध्यता रहेको भन्दै समस्या समाधानको लागी कोहलपुरमा यातायातको सेवा कार्यालय स्थापना गर्न माग राखिएको थियो । 

    मुख्यमन्त्री चेतनारायण आचार्यले कोहलपुरमा छिट्टै यातायातको सेवा कार्यालय स्थापना गरिने प्रतिवद्धता व्यक्त गरे । ‘नेपालगञ्जको कार्यालय नेपालगञ्जमै रहन्छ । त्यो कार्यालय कतै जाँदैन । तर, कोहलपुरमा यातायातको सेवा कार्यालय स्थापना गर्ने कामका लागि प्रक्रिया सुरु हुन्छ । उनले भने,‘जनतालाई कसरी सहज रुपमा सेवा दिन सकिन्छ । त्यतातर्फ सरकारको ध्यान छ ।’ कोहलपुर उदाउँदो शहर पनि हो । यहाँ पुर्व–पश्चिम मात्रै होइन सुर्खेतदेखि कर्णाली प्रदेशका जिल्लाका सेवाग्राही आउने जाने बाटो हो । अन्तरप्रदेश रुट प्रमिट भने वितरण गर्न सकिएको छैन् । संघीय सरकारले अनुमति दिनुपर्ने भएकाले त्यसका लागि पहल गरिने जनाइएको छ । 

    कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले प्रदेश सरकारले कोहलपुरको समग्र विकासको लागि ध्यान दिनुपर्ने बताए । उनले यातायातको सेवा कार्यालय स्थापना गर्न जग्गाको र भवनको कुनै अभाव नरहेको भन्दै चाँडै नै सेवा कार्यालय सञ्चालनमा ल्याउन माग राखे ।‘यातायात सेवा कार्यालय कोहलपुरमा चाहिएको छ । हामीले के सहयोग गर्नुपर्छ तयार छौं । नगर प्रमुख आचार्यले भने,‘जनताको सेवाको लागि प्रदेश सरकारले ध्यान दिनुपर्याे ।’ 

    उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्री प्रचण्ड विक्रम न्यौपानले सेवा प्रवाहलाई सरल बनाउने सरकारको नीति भएकाले सेवा केन्द्र विस्तारका लागी सरकारले पहल लिने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘हामीले नीतिगत निर्णय गरेर यसलाई कार्यान्वयनमा लैजानछौं । उनले भने,‘कर्मचारीको व्यवस्थापन गरेर काम अघि बढ्छ ।’