२०८३, आषाढ २६ गते

Jul 10 2026 | २०८३, आषाढ २६ गते

मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देहीको छैठौं अधिवेशनको तयारी पूरा

बिहिवार , भाद्र ६, २०८१

  • 967
    Shares
  • 967
    Shares
  • बुटवल, ६ भदौ । 
    मदन भण्डारी स्पोर्टस एकेडेमी रुपन्देही जिल्ला कमिटीको छैठौं अधिवेशन शुक्रबार (भोली) हुने भएको छ । एकेडेमीको जिल्ला अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जिल्ला अध्यक्ष मणिरत्न भण्डारीले बताए । अध्यक्ष भण्डारीका अनुसार अधिवेशन योगीकुटी, बुटवलमा हुनेछ ।

    उर्जावान र युवा नेतृत्वको अवधारणालाई आत्मसात गर्ने एकेडेमीमा नयाँ नेतृत्व सर्वसम्मत हुने गरी तयारी भएरहेको उनले बताए । आफनो कार्यकालमा विभागको विस्तारित बैठक, खेलकुद विकासको लागि खेलाडी तथा प्रशिक्षक सम्मान, प्लस टु छात्रछात्रा भलिबल तथा बुद्धिचाल प्रतियोगिता, यु—१४ लिटल स्टार क्रिकेट प्रतियोगिता, खेलाडी सम्मान तथा संरक्षण कार्यक्रमहरु चलाएको अध्यक्ष भण्डारीले जानकारी दिए ।

    बुधबार बुटवलमा बसेको तयारी बैठकमा एकेडेमीका केन्द्रीय अध्यक्ष ध्रुव आचार्यले सबै खेल विधाका समेट्ने गरी नयाँ नेतृत्व चयन हुने बताए । वर्षभरी एकेडेमीमा विभिन्न कार्यक्रममा सहयोग गर्ने खेलाडी र संस्थाहरुलाई समेत सम्मानको संस्कार विकास गरेर सम्बन्ध विस्तार र प्रोत्साहनलाई जोड्ने उनले बताए ।

    एकेडेमीको नगर जिल्ला, प्रदेश र केन्द्रको नेतृत्वमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, साईक्लिङ, बास्केटबल, एथ्लेटिक्स, मार्शल आर्ट, कब्बडी, लगायत खेलबाट प्रतिनिधित्व गरेर संस्थागत विकासमा योगदान दिदै आएको उनले दावी गरे । खेल र खेलाडीको विकासमा अग्रसर रहेको एकेडेमीले विभिन्न प्रतियोगितामार्फत खेलाडीहरुलाई प्लेटफर्म दिदै आएको आचार्यले बताए ।

    एकेडेमीको जिल्ला नेतृत्वमा संस्थापक अध्यक्ष ज्ञानदेव हटुवाल रहेका थिए । त्यसपछि ध्रुव आचार्य, नन्दु काउचा, कृष्ण देवकोटा, मणिरत्न भण्डारी अध्यक्ष भए ।