
मंगलवार , श्रावण २२, २०८१
काठमाडौं, २२ साउन ।
सरकारले जनपथ प्रहरीका प्रहरी नायव महानिरीक्षक रामदत्त जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जोशीलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । बढुवा भएका जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग नक्सालमा पदस्थापन गरिएको उनले बताए ।
बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी दीपक थापालाई केन्द्रीय अनुसन्धान ब्युरोमा, श्यामलाल ज्ञवालीलाई नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयमा सरुवा गरेको प्रवक्ता गुरुङले बताए ।
त्यस्तै बैठकले नेपाल न्याय सेवा कानुन समूहका राजपत्रांकित प्रथम श्रेणीका अधिकृत आलोकचन्द्र श्रेष्ठ र परासर ढुंगानालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको प्रवक्ता गुरुङले जानकारी दिए । श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगमा र ढुंगानालाई नेपाल कानुन आयोगमा पदस्थापन गर्ने निर्णय गरेको उनले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij