२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

रोकियो बुटवल-नारायणगढ सडकखण्डको निर्माण कार्य

आइतवार , श्रावण २०, २०८१

भैरहवा। बर्षाका कारण रोकिएको बुटवल-नारायणगढ सडकखण्डको निर्माण कार्य केहि समय लम्बिने भएको छ । नेपालमा मनसुन शुरु भएपछि रोकिएको सडक निर्माणको काम आउदो कार्तिक १५ गते पछि मात्रै हुने भएको छ । 

बर्षातका कारण निर्माणको काम गर्दा गुणस्तरयुक्त नहुने उल्लेख गर्दै कार्तिक १५ गते पछि मात्रै सडक निर्माणको बांकि काम शुरु गर्ने निर्माण व्यवासयिले सरकारी पक्षलाई जानकारी गराएको छ । 

सडक निर्माणको बाँकी काम सम्पन्न गर्नका लागि यही साउन १० गते पुनः एक वर्ष म्याद थप गरेको निर्माण कम्पनीले अहिले सडक विस्तारको काम रोकेको छ । 

बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटदेखि दाउन्ने खण्डमा अहिले सामान्य सडक मर्मत कार्यबाहेक अन्य काम ठप्प रहेको छ ।

बर्षाका कारण यो समयमा सडक कालोपत्र र विस्तारको काम नभए पनि पर्खाल निर्माण र मर्मतको काम भइरहेको नारायणगढ-बुटवल सडक आयोजना पूर्वी खण्डका इञ्जिनियर शिव खनालले बताए । खनालका अनुसार हाल सडक कालोपत्रबाहेकको सामान्य पर्खाल निर्माण र खाल्डाखुल्डी मर्मतका लागि पूर्वी खण्डमा ६४ जना कामदारले काम गरिरहेका छन् । 

सडक कालोपत्र र विस्तारको काम कात्तिक १५ देखि मात्र सञ्चालन गर्नेगरी समय तालिका निर्माण कम्पनीले सरकारी पक्षलाई उपलब्ध गराएको छ । योबीचमा मर्मत र पर्खाल निर्माण गर्नेगरी कार्यतालिका पेस गरेको भए पनि सोअनुसारको काम पनि अहिले सडकमा भएको देखिएको छैन ।

चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन प्रालिले सडक विस्तारको काम मनसुन सुरु भएदेखि नै रोकेको थियो ।

यसअघि थपिएको म्याद यही साउन ८ गते सकिएपछि सरकारले थप एक वर्षका लागि म्याद थपिदिएको हो । निर्माण कम्पनीले दुई पटक म्याद थप्दा पनि काम नसकेपछि सरकारले तेस्रो पटक म्याद थपेको हो । छोटो अवधिका लागि म्याद थप भए पनि सडक निर्माणको प्रगति हेर्दा थप गरिएको म्याद भित्र पनि कार्यसम्पन्न हुनेमा आशङ्का उब्जिएको छ । 

विसं २०७९ साउन २२ मा सडक विस्तारको काम सम्पन्न गर्नेगरी २०७५ साल चैतमा यस सडक विस्तारको शिलान्यास गरिएको थियो । सडक विस्तारको काम समयमै सम्पन्न नहुँदा यो सडकखण्डको यात्रा निकै कष्टकर हुने गरेको छ । घाम लाग्दा धुलो र वर्षामा हिलोले गर्दा यो सडकखण्डको यात्रा अति कष्टकर हुने गरेको छ ।