२०८२, माघ २७ गते

Feb 10 2026 | २०८२, माघ २७ गते

लुम्बिनीमा बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु

आइतवार , श्रावण ६, २०८१

  • 892
    Shares
  • 892
    Shares
  • लुम्बिनी, ६ साउन ।
    बुद्ध जन्मस्थल लुम्बिनीमा आठौं बर्षाबास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । आइतबार राजकीय बौद्ध विहारमा आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर बर्षाबासको आरम्भ गरेका गरेका हुन । भिक्षु धम्मले बर्षाबास कार्यक्रमले नेपालीहरुलाई भगवान बुद्धको उपदेशहरुको ज्ञान लिन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।

    नेपालीहरुलाई विश्वभर भगवान बुद्धको देशका मानिस भनेर चिनिने भएका कारण सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक रहेको बताए । उनले लुम्बिनीबाट के पाएँ भन्दा पनि के दिएँ भनेर सोच्नुपर्ने बताए । यु.एन.डी.पी.का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले संयुक्त राष्ट्र संघले सन २०१६ देखि २०३० सम्म दिगो विकास लक्ष्य घोषणा गरेर काम गरिरहेको स्मरण गर्दै लुम्बिनीका स्थानीयसँग मिलेर फोहोर व्यवस्थापनको क्षेत्रमा काम गरीरहेको जानकारी दिए ।

    विश्व समुदायको हितका लागि शान्ति पहिलो शर्त भएकाले शान्तिका प्राप्तिका लागि समुदायस्तरमा बुद्ध शिक्षा पुर्याउनुपर्नेमा उनले जोड दिए । विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानहरुले धार्मिक सहिष्णुता जोगाइ राख्न महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ छ ।

    लुम्बिनी साँस्कृतिक नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहारहरु स्थानीयसँग जोडिन नसकेको दुःखेसो गरिन् । 
    वर्षातको तीन महिना प्रतिकुल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक उपासिकासहित भिक्षुहरु सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई बर्षाबास भनिन्छ ।

    साउन पूर्णिमादेखि सुरु भएको बर्षाबास  ३ महिनापछिको पूर्णिमामा समापन हुनेछ । बर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ । बर्षाबासको अवधिभर दैनिक धर्मदेशना, पुजा लगायतका विभिन्न धार्मिक गतिविधिहरु सञ्चालन गरिने कार्यक्रम संयोजक मीरा गौतमले जानकारी दिइन् ।