भैरहवा, २८ चैत ।
नयाँ वर्ष २०८१ को स्वागतार्थ भैरहवामा सञ्चालन हुन लागेको ‘सिद्धार्थ सडक खाना महोत्सव–२०८०’ को तयारी पूरा भएको छ ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना तथा विभिन्न संघ–संस्थाहरुको समन्वयमा हुन लागेको सडक खाना महोत्सवको सम्पूर्ण तयारी पूरा भएको संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले जानकारी दिए ।
सिद्धार्थनगर नगरपालिका–३ स्थित आँखा अस्पताल रोडमा हुन लागेको महोत्सवमा विभिन्न प्रकारका खानाका परिकारहरुसँगै सांगितिक कार्यक्रम पनि हुने अध्यक्ष पोख्रेलले बताए ।
आर्थिक क्षेत्रलाई चलायमान बनाउन तथा पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले महोत्सव आयोजना गरिएको संगठनका निवर्तमान अध्यक्ष तथा महोत्सवका संयोजक पिताम्बर न्यौपाने (विष्णु) ले बताए । ‘सडक खाना महोत्सवमा विभिन्न स्थानीय खानाको परिकारसँगै तारे होटलसम्मका स्वादहरु सडक रहेको ६० बढी स्टलहरुबाट लिन सकिने व्यवस्था मिलाएको छौं, ’न्यौपानेले भने ।
यसअघिका वर्षहरुमा बेलहिया–बुटवल ६ लेन सडकखण्ड अन्तर्गत देवकोटाचोकदेखि बसपार्क क्षेत्रसम्म सडक खाना महोत्सव आयोजना हुँदै आए पनि यसपटक सिद्धार्थ क्रिकेट रंगशालासँगै जोडिएको सडकमा महोत्सव आयोजना हुने न्यौपानेले बताए । कार्यक्रमलाई प्रभावकारी बनाउन र ट्राफिक व्यवस्थापनलाई पनि सहज बनाउन यसपटक स्थान परिवर्तन गरिएको उनले बताए ।
विषम परिस्थितिका बाबजुद पनि महोत्सवलाई सभ्य र भव्य रुपमा सफल बनाउन सबैको साथ आवश्यक रहेको संगठनका पूर्वअध्यक्ष गणेश बेल्बासेले बताए । यसपटक महोत्सवमा भारतीय पर्यटकको सुविधालाई मध्यनजर गर्दै सीमा नाकामा सहजताका लागी आवश्यक पहल गर्ने आयोजकले जनाएको छ । ‘महोत्सवमा कसरी बढी भन्दा बढी पर्यटक भित्र्याउन सकिन्छ भन्नेतर्फ हामी सक्रिय छौं, ’संगठनका महासचिव बाल बहादुर घिमिरे (सुनिल)ले भने ।
चैत्र ३० गते सांझ ६ बजेदेखि सुरु हुने महोत्सवमा साँस्कृतिक कार्यक्रम अन्तरगत नृत्य, डिजे लगायत रहेको महोत्सवको सह–आयोजक मदिरा व्यवसायी संघ भैरहवाका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले बताए । विगतका वर्षहरुको अनुभवका आधारमा यस वर्ष महोत्सवम १० हजार बढीको सहभागीता रहने आयोजकको अनुमान छ ।
महोत्सवको सिद्धार्थनगर नगरपालिका र मदिरा व्यवसायी संघ, भैरहवा रुपन्देही सह–आयोजक रहेका छन् । त्यसै गरी प्रायोजकमा गोर्खा ब्रुरुअरी इण्डष्ट्रिज प्रा.लि., सह–प्रायोजकमा जावला खेल इण्डष्ट्रिज प्रा.लि., प्रवर्द्धकमा उद्योग, पर्यटन तथा यातायात मन्त्रालय पर्यटन विकास परिषद् लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौं र पर्यटन डिभिजन कार्यालय भैरहवा, रुपन्देही रहेका छन् ।
त्यस्तै संरक्षक संस्थाहरुमा उद्योग व्यापार संगठन रुपन्देही, होटल व्यवसायी महासंघ नेपाल, होटल व्यवसायी महासंघ, लुम्बिनी प्रदेश, सल्लाहकार संस्थाहरुमा सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र सिद्धार्थ संजाल, रुपन्देही रहेका छन् ।
त्यसै गरी सहयोगी संस्थाहरुमा नाट्टा लुम्बिनी प्रदेश, सिद्धार्थ होटेल एसोशिएशन (सान), लुम्बिनी होटल संघ, नेपाल, लुम्बिनी प्रेस क्लब रुपन्देही, सोट्टो नेपाल, लुम्बिनी मनिचेन्जर व्यवसायी संघ रुपन्देही , सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि., सिद्धार्थ यातायात प्रा. लि., आस्था महिला उद्यमी संघ, भैरहवा, डि.पी.स्टुडियो र युनिक साउण्ड भैरहवा रहेका छन् ।