२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अहिलेको पिढीले नै परिवर्तन ल्याउन सक्छ : मन्त्री पाण्डेय

बुधवार , फाल्गुण २, २०८०

भैरहवा, २ फागुन ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले अहिलेको पिढीले नै मुलुकमा परिवर्तन ल्याउन सक्ने बताएका छन् । उनले नयाँ नेपाल नभइ नेपाललाई व्यवस्थित, समृद्धि र शिक्षित बनाउनुपर्नेमा जोड दिए ।

श्री पब्लिक माध्यमिक विद्यालय सियारी गाउँपालिका–४ छपिया, रुपन्देहीको ५८ औं वार्षिकोत्सव समारोह एवं सरस्वती पूजा, अभिभावक दिवसलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । ‘हामी राजनीति क्षेत्रमा छौं, पाँच वर्षका लागि निर्वाचित भएका छौं, राम्रो काम सके मात्र जनताबाट पुनः नविकरण हुन सक्छौं, ’उनले भने । 

शिक्षकले विद्यार्थीहरुलाई सुन मात्र नभइ हिरा पनि बनाउन सक्ने उनको भनाइ छ । आफ्नो बुवा लामो समय शिक्षण पेशामा आबद्ध हुनुभएको स्मरण गर्दै मन्त्री पाण्डेयले शिक्षकको भूमिका आफूले बुझेको बताए । उनले भने, ‘अब शिक्षित व्यक्तिहरु राजनीतिमा आउनुपर्छ । ’ उनले २१ औं शताब्दी मर्नका लागि नभइ गर्नका लागि भएको बताए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले देशको नेतृत्व गर्ने व्यक्तिहरुले आम जनतामा नकारात्मक सोच निर्माण गरेको भन्दै नकारात्मक सोचलाई त्याग्नुपर्ने बताए । 

लुम्बिनी प्रदेश सरकारले स्थानीय उत्पादनको ब्राण्डिङ र बजारीकरण गर्दै प्रदेशका दुईलाख युवाहरुलाई रोजगारी दिने नीति तथा कार्यक्रम बनाएको बताए । उनले बुद्ध जन्मस्थल लुम्बिनी र बुद्धसँग सम्बन्धित क्षेत्रहरुको एक ग्राम माटो एक डलरमा विक्री गर्न सकिने बताए । उनले बुद्ध जन्मस्थल आउने बुद्ध अनुयायीहरुलाई एक ग्राम माटोे एक डलरमा विक्री गरेर पनि मुलुकलाई आर्थिक रुपमा सम्पन्न गर्न सकिने धारणा राखे ।