२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

जय नेपाल  मृत्यु शैयामा

बुधवार , माघ २४, २०८०

आज जन्म दिन भन्छन्
केक काटने र ह्यापी
बर्थ डे भन्ने अरे 
मीठो मीठो खानेकुरा 
हसुर्ने रे .. 

के हो? के म 
साँच्चै आज जन्मेको हो र ?
यसरी प्रत्येक साल 
म 
जन्मिएर साल भर मरी मरी
फेरी जन्मीएको दिन  !!

म जन्मेको केही याद छैन
६ बर्षको हुँदा अलि अलि
धुमिल आवाज 
जय नेपालको  ! 
यो जित कस्को कांग्रेसको बस ...

नौ‌ं बर्षको थोरै याद
आमा र केही भरीया लिई
उकाली ओराला हिंडदै
घुम पहाड पुगी
पहिलो पल्ट गाडी चढेको दिन .. 

कलिंपोंगको रौसे बजारमा 
पिताजीसँगको भेट
जय नेपालको 
दोस्रो पाडाव .....

पर्चा र पम्पलेट जुत्ताको 
मोजामा राखि राखि
कहिले नक्सलबाडी
कहिले झापा र कहिले
बिराटनगर अनि
काठमाण्डौ  ! जवानीका दिन .....

जिवनका ति सुनौलादिनहरू
जय नेपाललाई 
अर्पित गरिएछ
थाहै पाइएन कहिल्यै
जन्मदिन मनाएको .....

जनमत देखि बर्तमानसम्म
पुग्दा मेरो जय नेपालको
कहिले मृत्यु भयो 
थाहै भएन ....
जन्मदिन ति अतितमा
मनाएको संझनै छैन 

आज मेरो जन्मदिन 
भन्छन् 
किन हो थाहा छैन 
मरी सक्यो मेरो जय नेपाल
चारैतिर कमिसन , लुट , दासता
बिच मरेको मेरो स्व 
उठने कुनै संकेत छैन ..

जय नेपालको सट्टा 
जय नेता बिच 
जन्मदिन मनाउने 
कुनै चाह छैन !
अलपत्र भयो यो जिन्दगी
सात दशक पछि 
होस खुलेर गर्नु के ?

सचेत रहनु नकुदनु

नमनाउनु खुसीयाली
जय नेपालको 
मृत्यु शैयामा 
भन्छ मेरो मन .....