भैरहवा, २३ पुस ।
डाँका चोरी मुद्दामा दोषी भइ फरार अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक रुद्रपुर गाविस हाल कञ्चन गाउँपालिका वडा नम्बर ३ का ४६ वर्षिय बेल बहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक किशोर के.सी.ले बताए ।
रुपन्देही जिल्ला अदालतले २०६८ जेठ ३० गते थापालाई ६ वर्ष कैद र रु. ३० हजार जरिवानाको फैसला सुनाएको थियो ।
‘पुस १९ गते ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको टोलीले थापालाई फेला पारी पक्राउ गरेको र फैसला कार्यान्वयनका लागि रुपन्देही जिल्ला अदालत पठाएकोमा उनलाई कैद भुक्तानका लागि पुस २० गते जिल्ला कारागार कार्यालय रुपन्देहीमा पठाइएको छ, ’के.सी.ले भने ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले जिल्लामा हुन सक्ने चोरी, डकैती, लुटपाटका घटना, लागूऔषध दुव्र्यसन नियन्त्रण तथा न्यूनीकरण र फैसला कार्यान्वयन क्रममा फरार प्रतिवादी पक्राउका लागि पुस १ गतेदेखि ‘क्लिन स्वीप अपरेशन’ सञ्चालन गरिएको बताए ।