
सोमवार , श्रावण १९, २०७७
भैरहवा, १९ साउन ।
सिद्धार्थनगर नगरपालिका नगर शिक्षा समितिको बैठकले आगामी भदौ १ गतेदेखि नगर भित्रका विद्यालयको शैक्षिक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकले कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जनस्वास्थ्यका मापदण्ड र सुरक्षाका मापदण्ड पालना हुने गरी विद्यालयका शैक्षिक कियाकलाप सञ्चालनार्थ सहजीकरण गर्ने निर्णय गरेको छ ।
समितिका अध्यक्ष नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्ने निर्णय गरेको छ ।
भदौ १ गते देखि नयाँ विद्यार्थी भर्ना र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकिन गर्ने निर्णय भएको छ । नयाँ शैक्षिक सत्रमा अध्ययन गर्ने विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने पनि बैठकले निर्णय गरेको शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले बताए ।
विद्यालयको शैक्षिक क्रियाकलाप सञ्चालनार्थ विद्यालय शिक्षकहरु विद्यालय पुगिसक्ने व्यवस्था मिलाउने पनि बैठकले निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा अनुसार अघि बढ्ने पनि बैठकले निर्णय भएको छ ।
परिस्थिति यथावत रहेको अवस्थामा सि.न.पा. भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा भर्नाका साथै माध्यमिक तहका कक्षाका पठनपाठन समेत निश्चित दुरी कायम गराइ गर्ने गरी तयारी गर्न विद्यालय तथा अभिभावकमा अनुरोध पनि गरेको छ । साबुन पानीले हात धुने व्यवस्था, स्यानेटाइजरको प्रयोग, मास्कको प्रयोग गर्ने बानी बसाल्न सिकाउने पनि बैठकले सबैमा अनुरोध गरेको छ ।
त्यस्तै विद्यालय भवन तथा परिसरमा क्वारेन्टिन र आइसोलेसन सम्बन्धि कार्यहरु सञ्चालन नगर्ने निर्णय भएको छ । क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन अध्यापन गर्न योग्य बनाउने निर्णय बैठकले गरेको शाखा प्रमुख लम्सालले बताए ।
विद्यालय र विद्यालय परिसर भित्र तथा विद्यार्थी आवागमनमा प्रतिकुल असर पर्ने गरी वा विद्यालय क्षेत्रको निकट हुने गरी कोभिड–१९ रोकथाम र नियन्त्रण सम्बन्धि संरचनाहरु नराख्ने पनि बैठकले निर्णय गरेको छ ।
बैठकले कोरोना सम्बन्धि सचेतना बढाउन समस्त शैक्षिक तथा समाजसेवी सबैमा अपिल पनि गरेको छ ।
बैठकमा नगर शिक्षा समितिका सदस्यहरु मोतिलाल सुवेदी, विष्णु पन्थी, राजु ढकाल लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij