२०८२, आषाढ २८ गते

Jul 12 2025 | २०८२, आषाढ २८ गते

सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा रोहिणी गाउँपालिकाले लगायो डोजर

शनिवार , मंसिर १६, २०८०

भैरहवा, १६ मंसिर ।
रुपन्देहीको रोहिणी गाउँपालिकाले सीमा क्षेत्रमा रहेको कवाडको गोदाममा डोजर लगाएको छ । शनिबार बिहान कवाड गोदाममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधि तथा स्थानीयबासीको उपस्थितिमा डोजर लगाइएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए ।

रोहिणी गाउँपालिका–२ मैनिहवास्थित ए.एस.पी. स्क्रेप सप्लायर्स नामक कवाडी संकलन गर्ने व्यवसाय गाउँपालिका कार्यालयमा दर्ता नगरी सञ्चालन रहेको, सो व्यवसायप्रति जनमानसको गुनासो रहेको र सीमा क्षेत्रमा सञ्चालित व्यवसायमा अवैध गतिविधि हुन सक्ने भएकोले व्यवसाय सञ्चालनमा रोक लगाइएको अध्यक्ष यादवले जानकारी दिए । 

पटकपटक व्यवसाय सञ्चालन नगर्न जानकारी गराउँदा पनि वेवास्ता गरेपछि गोदामको गेट तथा पर्खाल भत्काइएको उनले बताए । उनले भने, ‘सीमा क्षेत्रमा रहेको कवाडको गोदामका कारण अवैध गतिविधि हुन सक्ने कुरालाई मध्यनजर गर्दै गोदाम हटाइएको छ ।’

nmmm.jpg

रोहिणी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खानले दर्ताबिना सञ्चालन भइरहेको कवाड संकलन गर्ने गोदाममा अवैध गतिविधि भइरहेको भन्ने जनताको गुनासो आएकोले संरचना भत्काइएको बताए । उनले आगामी दिनमा सीमा क्षेत्रमा कुनै पनि अवैध गतिविधि हुन नदिने गरी अघि बढ्ने बताए ।