मंगलवार, मंसिर १९ गते २०८०

अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खाणको आग्रह 

अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खाणको आग्रह 

images
images

खबर पात्रो

१, मंसिर २०८०
  • 317
    SHARES
  • अनाथ आश्रमको महायज्ञलाई सहयोग गर्न मेयर खाणको आग्रह 

    बुटवल, १ मंसिर । 
    रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित रामचन्द्र मैनादेवी अनाथ आश्रमको अक्षयाकोष वृद्धि गर्न श्रीमद भागवत धनधान्याञ्चल महायज्ञ सुरु भएको छ । 

    महायज्ञ उद्घाटन गर्दै तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले आश्रम स्थापना गरी अनाथ असहाय बालबालिकालाई पालनपोषण र शिक्षादिक्षा दिनु सबैभन्दा ठूलो मानवीय धर्म भएको भन्दै नगरपालिकाले आश्रमलाई सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले व्यक्तिगत रुपमा २५ हजार रुपैयाँ सहयोगको घोषणा गरे । उनले यो महायज्ञ सिंगो तिलोत्तमा नगरपालिकाको महायज्ञ भएको भन्दै १७ वटै वडाका वडाअध्यक्ष र नगरबासीले सहयोग गर्नुपर्नेमा जोड दिए ।

    images
    images

    समाजसेवी रोमणी प्रसाद पाठकले मानव सेवामा मैनादेवीको समर्पण र दुःखको जति प्रशंसा गरे पनि कम हुने भन्दै साथ दिन आग्रह गरे । 

    आश्रम सञ्चालनको खर्च जुटाउन अक्षयकोषलाई एक करोड पुर्याउन महायज्ञ गर्न लागिएको आश्रमकी सञ्चालक मैनादेवीले बताइन् । हाल अक्षयकोषमा ५२ लाख रुपैयाँ संकलन भएको तर, यसको ब्याजबाट आउने मासिक ४२ हजार रकमले १२ जना बालबालिकालाई खाना, खाजा, कपडा, स्टेशनरी लगायत सामान किन्न रकम अपुग भएकाले अक्षयकोषको रकम एक करोड पुर्याउने लक्ष्यसहित पाँचौ महायज्ञ सञ्चालन गर्न लागेको मैनादेवीले बताइन् । १२ जना बालबालिकाको पालनपोषण र शिक्षादिक्षासहित २ जना कर्मचारीलाई तलब दिन महिनामा कम्तीमा एक लाख रुपैयाँ खर्च हुने र त्यसका लागि अक्षयकोष एक करोड पुग्नुपर्ने उनको भनाइ छ ।

    आर्थिक स्रोतको अभावमा काम गर्ने कर्मचारी राख्न नसक्दा ६२ वर्षिय मैनादेवी र उनको परिवारका अधिकांश सदस्य आश्रममा आश्रित बालबालिकाको रेखदेख, स्याहारसुसार, उनीहरुको पालनपोषण र शिक्षादिक्षाका लागि बिहानदेखि रातिसम्म खटेर आफै काम गरिरहेका छन् । अहिले आश्रममा १२ जना बालक छन् । उनीहरुले तिलोत्तमाकै शान्ति नमूना माध्यमिक विद्यालयमा पढिरहेका छन् ।

    मंसिर ८ गतेसम्म चल्ने महायज्ञमा प्रेमसुजन शाष्त्री प्रमुख कथावाचक र निशान्त अधिकारी उपवाचक सहित ११ जना पण्डितहरुले संगीतमय कथावाचन गर्ने तथा ७ जना कलाकारको टोलीले झाँकी र लिलासहित गीत र नृत्यमार्फत भक्तजनहरुलाई मनोरञ्जन दिलाउनेछन् ।

    महायज्ञ सम्पन्न गर्न सनातनी युवा मञ्च तिलोत्तमाले आश्रमसँग सहकार्य गरेको छ । महायज्ञमा रात्रीकालिन झाँकी र नृत्य विशेष आकर्षक बनाउने तयारी भएको मैनादेवीको भनाइ छ ।
      

     

    images
    प्रकाशित मिति :मंसिर १, २०८० शुक्रवार - २१:०८:२७ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij