
बुधवार , कार्तिक २२, २०८०
रुपन्देही, २२ कार्तिक ।
रुपन्देहीको कञ्चन गाउँपालिकाले आर्थिक वर्षको अन्त्यतिर योजना सम्झौता गर्ने र हतारहतारमा काम गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्ने अभियान सुरु गरेपछि पालिकामा योजनाको काममा परिवर्तन देखापरेको छ ।
पालिकाले यो वर्षको कार्तिक सम्म ई–बिडिङमार्फत आठवटा योजनाको सूचना निकालेमध्ये चारवटाको ठेक्का लगाइसकेको छ। तीनवटा ठेक्का प्रक्रियामा रहेको छ भने एउटा काम निर्धारित मितिभन्दा अघि नै सम्पन्न भएको छ ।
कञ्चन गाउँपालिका इञ्जिनियर सुवोध ज्ञवालीले गाउँपालिकाले योजनाको कामलाई प्रभावकारी बनाएकै कारण कञ्चनको वडा नम्बर १ को भैसाही माविको कम्पाउण्ड वाल निर्माणको काम असोज ३० गते सुरु भएर निर्धारित मितिभन्दा ८ दिन छिटो कार्तिक २२ गते नै सम्पन्न भएको बताए । उनले विगतमा ढिलो योजना सम्झौता गर्ने र काम पनि ढिलो र हतारमा गर्ने असारे विकासको प्रवृत्ति निरुत्साहित गर्न अभियान चलाएपछि अहिले समयमै योजनाको काम सम्पन्न भएको बताए ।
इञ्जिनियर ज्ञवालीले १० लाखमाथिका योजना ई–बिडिङबाट गर्ने नीतिअनुसार यो वर्ष कार्तिकसम्म ८ वटा योजना ई–बिडिङबाट सूचना निकालेमध्ये ४ वटा योजनाको सम्झौता भइ काम अगाडि बढिसकेकोे र बाँकी पनि सम्झौता हुने अवस्थामा रहेको बताउँदै सकेसम्म चैतभित्रै र नभए वैशाखभन्दा पर नजाने गरी योजनाको काम सम्पन्न गर्ने उल्लेख गरे ।
कञ्चन गाउँपालिकाले १० लाखभन्दा सानो योजना स्थानीय उपभोक्ता समितिमार्फत गर्ने नीति लिएको छ भने १० लाखमाथिका योजना ई–बिडिङमार्फत गर्ने भएको हो । पालिकाले बुधबार अनुगमन गरेको कञ्चन–५ को भैसाही माविको १० लाख रुपैयाँको कम्पाउण्ड वाल निर्माणको काम निर्धारित मितिभन्दा ८ दिन अघि सम्पन्न गरिसकेको छ । उक्त कामको जिम्मा इन्जेनियम इन्फ्रास्टक्चर केटीएम प्रा.लि.ले पाएकोमा एक महिना पनि नहुँदै निर्माणको काम सम्पन्न गरेको हो ।
त्यसै गरी कञ्चन गाउँपालिकाले एक सूचना प्रकाशित गरी ठेक्का पाएका तर तोकिएको समयभित्र निर्माणको काम सम्पन्न गर्न पटकपटक ताकेता गर्दापनि काम अघि नबढाएको हुँदा दुईवटा निर्माण कम्पनीलाई स्पष्टीकरण दिन निर्देशन दिएको छ । पालिकाले सूचनाको बेवास्ता गरे सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij