
मंगलवार , कार्तिक २१, २०८०
भैरहवा, २१ कार्तिक ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाले जाजरकोटका भूकम्पप्रभावित परिवारलाई राहत सामाग्री प्रदान गरेको छ । नगरकार्यपालिकाको बसेको बैठकबाट भूकम्पप्रभावित परिवारलाई रु.१२ लाख बराबरको खाद्यन्न सामाग्री सहयोग गर्ने निर्णय गरेको हो ।
नगरप्रमुख सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, वडा नम्बर ४ का अध्यक्षा विनोद कुमार श्रीवास्तव, वडा नम्बर ६का वडाअध्यक्ष नईमुलहक मुसलमान, नगरपालिकाका विपद् व्यवस्थापन शाखाका संयोजक शेषराम यादवसहितको टीमले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई सो राहत सामग्री मंगलबार हस्तान्तरण गरेको हो ।
सहयोग गरिएको सामग्रीमा मसिनो चामल ९६ क्विन्टल, मसुरो दाल १ सय के.जी, तोरीको तेल १६ कार्टुन, चिउरा प्याकेट १ सय के.जी, आयोडिन नुन १ सय के.जी, चाउचाउ ७५ कार्टुन् र ब्लांकेट १६० थान रहेको छ ।
सामग्रीको विवरण जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई हस्तान्तरण गर्दै नगरप्रमुख सजरुद्दीन मुसलमानले विपदले निम्ताएको घाउलाई नगरपालिकाले मलम लगाउने प्रयास गरेको बताए । सरकारले चालेको एकद्वार प्रणाली अन्र्तगत यी राहत सामग्री भूकम्पप्रभावित परिवारले पाएको पक्कै पनि महसुस गर्ने अपेक्षा समेत मेयरले राखे । उनले नगरपालिकाले आवश्यक पर्ने सहयोग आगामी दिनमा गर्ने बताउँदै भूकम्पबाट मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
त्यस्तै राहत सामाग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख कल्पना हरिजनले नगरपालिकाले मानवीय सेवा गरेको बताइन् । मानिसलाई आपतविपत परेको बेला सरकार नजिक हुनु नै स्थानीय सरकारको दायित्व भएको उपप्रमुख हरिजनले उल्लेख गरिन् । उनले तीनै तहको सरकारले भूकम्पप्रभावितलाई उचित राहत उपलब्ध गराउने अनुरोध गर्दै विभिन्न सामाजिक संस्थाहरुलाई राहत अभियानमा सरिक हुन अपील गरिन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल,ध्रुव बहादुर कुंवरलगायतको उपस्थिति रहेको थियो ।
साथै, सोही क्रममा लुम्बिनी होटल संघले नगरपालिकालाई भुकम्पप्रभावितको सहयोगका लागिल ७ वण्डल ओछ्याउने मेड सहयोग गरेको छ । सोही सामाग्री समेत जिल्ला प्रशासनलाई हस्तान्तरण गरिएको विपद् शाखा प्रमुख शेषराम यादवले जानकारी दिए ।
कात्तिक १७ गते शुक्रबार जाजकोट जिल्लालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भुकम्प गएको थियो । भुकम्पबाट धेरै जनधनको क्षति भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij