२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

सियारीले पठायो भुकम्पप्रभावित क्षेत्रमा राहत सामग्री 

आइतवार , कार्तिक १९, २०८०

भैरहवा, १९ कार्तिक । सियारी गाउँपालिका, रुपन्देहीले जाजरकोट र रुकुम पश्चिमका भुकम्पपीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहितको राहत सामग्री पठाएको छ । पालिकाले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीको संयोजनमा खाद्यान्न तथा लत्ताकपडा पठाएको हो । 

भुकम्पप्रभावित क्षेत्रका लागि संकलन गरिएको राहत सामग्री गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थी र कार्यपालिका सदस्य पदम मिजारले आइतबार प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई हस्तान्तरण गरे । 

पालिकाले २५ क्वीन्टल चामल, ४ क्वीन्टल मसुरो दाल, १ क्वीन्टल चिउरा, १ क्वीन्टल सोयाबीन, ६० पिस स्वीटर, ४० पिस ब्लाङकेट, ४० पिस सिरक, ५० पिस डसना खरिद गरी भुकम्पप्रभावित क्षेत्र पठाइएको अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए । 

राहत सामग्रीलाई आज साँझै लु २ ख ८४७ नबरको ट्रकमार्फत जाजरकोट पठाइएको छ । आइतबार बिहान बसेको विपद व्यवस्थापन समितिको बैठकले राहत सामग्रीलाई एकद्वार प्रणालीबाट पठाउने निर्णय गरिएको थियो । 

त्यस्तै विभिन्न संघ–सस्थाको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले संकलन गरेको राहत सामग्री पनि सोही ट्रकमार्फत जाजरकोट पठाइएको छ ।