मंगलवार, मंसिर १९ गते २०८०

काठमाडौंबाट सुरू गरियो ‘महाजात्रा’ को छायांकन

काठमाडौंबाट सुरू गरियो ‘महाजात्रा’ को छायांकन

images
images

खबर पात्रो

१६, कार्तिक २०८०
  • 321
    SHARES
  • काठमाडौंबाट सुरू गरियो ‘महाजात्रा’ को छायांकन

    काठमाडौँ, १६ कात्तिक । 
    चलचित्र ‘जात्रा’ र ‘जात्रै जात्रा’ को व्यवसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो श्रृंखला ‘महाजात्रा’ को छायांकन काठमाडौँबाट सुरू गरिएको छ । काठमाडौँमा अधिकांश र जनकपुरमा केही छायांकन हुने कार्यकारी निर्माता तथा अभिनेता रवीन्द्रसिंह बानियाँले जानकारी दिए । 

    ‘हामीले श्रृंखला थप्न हतार गरेनौं । कथा अगाडी बढाउने आइडियामा निर्माण समूह सहमत भएपछि सुरू गरेका हौं । यसको छायकन सेड्युल ४५ दिन तय गरेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने । 

    images
    images

    अघिल्लो दुई श्रृंखलाकै लेखक तथा निर्देशक प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भइरहेको चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहनेछ ।

    यसपटक कथाको डिमाण्डअनुसार नै अभिनेता आचार्यलाई कास्ट गरिएको निर्देशक भट्टराईले बताए । उनले भने,‘दुई श्रृंखलामा जात्रा भएपछि महाजात्रा गर्न चाहिने कलाकार उहाँ नै हुनुहुन्थ्यो । एउटा घटनाको जात्रा थियो । दुई टिमको घटनामा जात्रैजात्रा बन्यो । त्यो हिसाबले महाजात्रा धेरै घटनाको कथावस्तु हो ।’ उनले अघिल्ला दुई श्रृंखलाको तुलनामा यसपटक पटकथा सशक्त रहेको दावी समेत गरे । 

    ‘जात्रा’ मा गायकको रुपमा जोडिएका अभिनेता आचार्यले यस श्रृंखलासँग आफू नजिक रहेको बताए । ‘प्रदीप भाईको डेब्यु चलचित्र भएकाले पनि म यो श्रृंखलासँग नजिक थिएँ । यसपटक कलाकारको रुपमा जोडिएको छु । कथा, विषयवस्तु राम्रो छ,’ अभिनेता आचार्यले भने ।  

    जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको चलचित्रलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन् । ‘जात्रा’ चलचित्रको लोकप्रियताले छायांकन नहुँदै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ । 

    यसमा जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाँकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशन, आशिष अविरलले संगीतकार, शमशेर लामा श्रृंगार, रूपकप्रताप अधिकारी प्रोडक्सन डिजाइनर रहेका छन् ।

    images
    प्रकाशित मिति :कार्तिक १६, २०८० बिहिवार - १२:०६:०५ बजे

    खबर पात्रो

    धेरै पढिएको

    Copyright © All right reserved to khabarpatro

    Site By: sobij