
आइतवार , श्रावण १८, २०७७
भैरहवा, १८ साउन ।
पोर्ट मिडिया प्रा.लि. द्वारा प्रकाशित न्यूज ओके साप्ताहिक पत्रिकाको आयोजनामा यही साउन २४ गते शनिबार सिद्धार्थनगर साइक्लिंग च्याम्पियनसिप–२०७७ (दौड) हुने भएको छ । पत्रिका पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा न्यूज ओके साप्ताहिकले च्याम्पियनसिप (दौड)को आयोजना गरेको जनाएको छ ।
कार्यक्रमबारे जानकारी गराउन पोर्ट मिडिया प्रा.लि./न्यूज ओके साप्ताहिकले आइतबार भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिडिया प्रा.लि.का अध्यक्ष बिमल सेञ्चुरीले दौड सिद्धार्थनगरसहित रोहिणी, ओमसतिया, सियारी, मायादेवी गाउँपालिका र तिलोत्तमा नगरपालिकाका विभिन्न भागमा पुग्ने बताए । उनले बिहान ६ः३० बजे भैरहवाको विद्रोहीचोकस्थित सानु डिपार्टमेन्टल स्टोरबाट सुरु हुने दौड भैरहवास्थित देवकोटाचोकमा पुगेर समापन हुने बताए ।
४० किलोमिटरको दौडमा भैरहवा क्षेत्रका ५० जना साइक्लिष्टहरु सहभागि हुने सेञ्चुरीले जानकारी दिए । २ प्याटनमा आयोजना हुने दौडमा ४५ वर्ष उमेर समूह र ४५ वर्ष मुनी उमेर समूहका साइक्लिष्टहरुको सहभागिता रहनेछ, उनले भने । विजेताहरुलाई ट्रफी र नगद पुरस्कार प्रदान गरिने उनले जानकारी दिए । रेसमा साइकल सिटी भैरहवाले प्राविधिक सहयोग गर्ने उनले बताए ।
सिद्धार्थनगरलाई खेल पर्यटनको माध्यमबाट अगाडी बढाउने उद्देश्यले साइकल रेसको आयोजना गरिएको न्यूज ओके साप्ताहिक पत्रिकाका सम्पादक मनोरञ्जन शर्माले बताए । साइकल रेस आयोजना गर्ने पहिलो प्रयास भए पनि आगामी दिनमा पनि निरन्तरता दिइने शर्माले बताए । यो रेस सिंगो सिद्धार्थनगरलाई पहिचान गराउने साइकल भएकोले सबै क्षेत्रबाट सहयोग हुने आशा गरेका छौं, उनले भने । साइकल रेसमा गियर भएको साइकलले मात्र सहभागि हुन पाउने उनले जानकारी दिए ।
साइकल च्याम्पियनसिपको संयोजकको जिम्मेवारी पोर्ट मिडिया प्रा.लि.का सञ्चालक खेमराज भुसाललाई दिइएको आयोजकले जनाएका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले न्यूज ओके पत्रिका निःशुल्क रुपमा पढ्न पाइएको बताए । उनले साइकल रेसको पूर्ण सफलताको शुभकामना व्यक्त गरे ।
साइकल सिटी भैरहवाका अध्यक्ष सूर्य कुमार सारु मगरले भैरहवामा साइकल लेन बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने बताए । उनले भैरहवा क्षेत्रमा कम्तीमा ५ किलोमिटरको दुरीमा बिहान जस्तै अरु बेला पनि साइकलको प्रयोग गर्न आग्रह गरे । साइकल रेसलाई आगामी दिनमा पनि निरन्तरता दिन उनले आग्रह गरे ।
लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीका अध्यक्ष दिपेश पछाईले पछिल्लो समय साइकल चढ्ने क्रेज बढेसंगै यसले व्यवसायमा समेत वृद्धि गरेको बताए । उनले साइकलको विक्री बढेसंगै यसले रोजगारीको अवसर समेत सिर्जना गर्ने बताए । पोर्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक विक्रम मल्लको स्वागत तथा न्यूज ओके पत्रिकाका सम्पादक मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij