
बिहिवार , भाद्र २१, २०८०
भैरहवा, २१ भदौ ।
रुपन्देहीको रोहिणी गाउँपालिका अन्तर्गत कार्यरत कर्मचारीहरुले संघ, प्रदेश र स्थानीय तहका कर्मचारीहरुको सेवा, सुविधा र वृत्ति विकास सम्बन्धमा विभेद नभइ समान हुनुपर्ने माग गरेका छन् । उनीहरुले स्थानीय तहमा कार्यरत निजामति कर्मचारीहरुलाई प्रदेश सेवा तथा संघीय सेवाको पदमा सरुवा तथा बढुवाको अवसरको सुनिश्चितता हुनुपर्ने समेत माग गरेका हुन् ।
बिहीबार संयुक्त विज्ञप्ती जारी गर्दै कर्मचारीहरुले प्रस्तावित संघीय निजामति ऐनको मस्यौदामा संघीय निजामित सेवा ऐज नभइ एकीकृत सेवा ऐन ल्याउनुपर्ने, सम्पूर्ण कर्मचारीहरुलाई निजामतिको परिभाषामा समेट्नुपर्ने, सरुवा प्रणालीमा सहमतिको आधार नभइ अनुमानयोग्य चक्रीय प्रणालीमा आधारित हुनुपर्ने, अन्तर प्रदेश सरुवाको व्यवस्था संघीय ऐनमा नै खुलाउनुपर्ने र निजामति अस्पतालमा सबै सरकारी कर्मचारीहरुलाई समेट्नुपर्ने माग गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमलाई ज्ञापनपत्रसमेत बुझाउँदै कर्मचारीहरुले सबै तहमा सम्मानजनक कार्य वातावरण, वृत्ति र अवसर सिर्जना गर्न नसक्ने गरी विभेदकारी शैलीमा नै निजामति सेवा ऐन जारी हुन लागेको देखिएकोले उक्त कदमप्रति ध्यानाकर्षणसहित निजामति सेवा दिवस मनाउन उपयुक्त नठानेको बताएका छन् ।
‘भदौ २२ गते विरोध स्वरुप कालोपट्टी बाधी विरोध जनाउने र स्थानीय तहका कर्मचारीहरुको सेवा सुविधासम्बन्धी व्यवस्था नभएसम्म निजामति सेवा दिवस नमनाउने निर्णयका साथ सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौं, ’विज्ञप्तीमा भनिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij