२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

फर्निचर संघको अधिवेशन, दुई पत्रकार सम्मानित

शनिवार , श्रावण १७, २०७७

बुटवल, १७ साउन ।
बुटवल फर्निचर उद्योग संघको २० औं साधारणसभा तथा दशौ अधिवेशन सम्पन्न भएको छ । सीप, जागर र लगानीको सदुपयोग गरी आत्मनिर्भर बनौ भन्ने नारासहित संघको शनिबार अधिवेशन भएको हो । 

अधिवेशनको बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले उद्घाटन गर्दै श्रम बजारको आवश्यकताको आधारका युवाहरुलाई दक्ष सीप सिकाउन नगरप्रमुख इलम कार्यक्रम, महिला उद्यमशिलता कार्यक्रम समेत चलाउँदै आएको बताइन् । 
कार्यक्रममा संघका अध्यक्ष विष्णु प्रसाद पाण्डेले निकै कठिन समयमा कार्यक्रम गर्नुपरेको बताए । विश्वभर नै कोभिड–१९ को संक्रमण रहेको बेला गरिएको कार्यक्रमलाई खुम्चाउनुपरेको उनले दुःखेसो गरे । स्वदेशी फर्निचरको प्रयोगमा जोड दिने आफुहरुको मागलाई प्रदेश सरकारबाट सम्बोधन गरेको भन्दै उनले यसलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्न जरुरी रहेको बताए । पत्रकारिता क्षेत्रबाट स्वदेशी फर्निचर उद्योगलाई प्रवदनमा सहयोग गर्ने एक जना पत्रकारलाई आगामी वर्षदेखि नगद ११ हजार १ सय ११ रुपैया पत्रकारिता पुरस्कार स्थापना गरिएको उनले बताए ।  

संघका सल्लाहकार समितिका संयोजक विष्णु कुमार श्रेष्ठले आर्थिक विकास बिना देश विकासको गति लिन नसक्ने बताए । संघ स्थापना गरी सार्वजनिक जग्गा प्राप्ति, राफल चिठ्ठा खेलाएर आर्थिक जुटाउँदै सचिवालयसम्मको यात्रा भएको उनले बताए । 
महासचिव जिवकान्त काफ्लेले संघको वार्षिक प्रतिवेदन पेश गर्दै उद्योगीहरुलाई एकतावद्घ गरि संगठनात्मक रुपमा अघि बढेको बताए । विदेशी वस्तुको भन्सार दर न्यून हुदा स्वदेशी उद्योग फस्टाउन नसकेको उनले बताए । उद्योगीहरु जग्गाको ठूलो समस्यामा गुज्रिरहेको बेला औद्योगिक क्षेत्र छिटो तयार गर्न जरुरी रहेको उनले बताए । अझै पनि धेरै उद्योगीहरु संघ भन्दा बाहिर रहेको भन्दै समेटेर लैजान जरुरी रहेको उनले बताए । 

दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न तालिम, फर्निचर उत्पादनको प्रचारप्रसार गर्न प्रदर्शनी लगायत कार्यक्रम गरिने उनले बताए । जिल्लामा ७ हजार ५ सय जनशक्तिहरुले रोजगार पाउन सफल रहेको उनको दावी छ । 

नेपाल फर्निचर तथा फर्निसिङ महासंघका केन्द्रिय उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहरा, रुपन्देही ब्यापार संघका अध्यक्ष डिल्लिराम भण्डारी, उद्योग व्यापार संघका उद्योग उपाध्यक्ष गोविन्द गैरे, ग्रिल व्यवसायी संघका अध्यक्ष तुल बहादुर सारु, कोषाध्यक्ष अशोक कुवर, सचिव नेत्र रुचालले सरकारलाई उद्योगमैत्री नीतिहरु ल्याउन पटकपटक झकझकाउने काम र उद्योगीहरुको हकहितसंगै सामाजिक हितमा संस्थागत रुपमा बढेको बताए ।
कार्यक्रममा संघको भवन निर्माणमा सहयोग गर्ने दाताहरुलाई सम्मानपत्रबाट सम्मान गरिएको थियो । 

त्यसै गरी पत्रकारिता क्षेत्रबाट स्वदेशी फर्निचर उद्योगलाई प्रवद्र्धनमा सहयोग गरेको भन्दै पत्रकार स्वस्तिक श्रेष्ठ र विश्वास ढकाललाई सम्मानपत्रद्वारा सम्मान गरिएको छ ।