
सोमवार , श्रावण १, २०८०
भैरहवा, १ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ र २ का बासिन्दाले डण्डा नदी (खोला) किनारमा बस्ती नजिकै फोहोर नफाल्न माग गर्दै सोमबार नगरपालिका कार्यालय गेट अगाडि विरोध प्रर्दशन गरेका छन् । उनीहरुले आइतबार राती प्रहरी–प्रशासनको बलमा फोहोर फाल्न खोजिएको विरोध प्रर्दशन गरेका हुन् । प्रदर्शनमा उनीहरुले नगरप्रमुख इश्तियाक अहमद खान र उपप्रमुख उमा अधिकारीविरुद्ध नाराबाजी गरेका थिए ।
विरोध प्रर्दशनमा बोल्दै सिद्धार्थनगर–२ का स्थानीय संजीव गुरुङले नगरका सम्पूर्ण क्षेत्र हराभरा बनाउने तर फोहोर जति वडा नम्बर १, २ मा फाल्नु जायज नभएको बताए । उनले नदी किनार र बस्ती नजिकै फोहोर फाल्दा स्थानीयबासी विभिन्न रोगबाट ग्रसित भएको बताए । उनले भने, ‘कतिपय नागरिकको क्यान्सरबाट निधन भइसकेको छ । कतिपय क्यान्सर तथा छालासम्बन्धी रोगबाट पीडित हुनुहुन्छ । ’
यसअघिका फोहोरमैला व्यवस्थापनका लागि आवाज उठेको र तत्कालिन नगरप्रमुख हरि प्रसाद अधिकारीले समाधानका लागि पहल गरे पनि वर्तमान नगरप्रमुख ३ दिन फोहोर थुप्रिदा आत्तिएको आरोप लगाए । उनले नगरप्रमुख इश्तियाक अहमद खानले नगरपालिकाको गतिविधिबाट पीडित नागरिकको गुनासो नसुनेको बताए ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का निवर्तमान वडाअध्यक्ष दीपक कुमार थापाले छापामार शैलीमा आइतबार राती ९ बजे फोहोर फाल्ने प्रयास गरिएको भन्दै आपत्ति जनाए । उनले भने, ‘प्रहरी-प्रशासन लगाएर नगरप्रमुखज्यूले तानाशाह प्रवृत्ति देखाउनुभयो । अब हामी एकजुट भएर अघि बढ्छौं ।’
सिद्धार्थनगर नगरपालिका–२ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तवले वर्षौदेखि वडाबासी समस्यामा परेको बताए । उनले सिद्धार्थनगर नगरपालिकाले समस्या समाधानका लागि दीर्घकालिन योजना बनाउनुपर्ने बताए । उनले भने, ‘बल प्रयोग गरेर समस्याको समाधान हुन सक्दैन । समाजमा सबैलाई समेटेर अघि बढ्नुपर्छ ।’
सिद्धार्थनगर नगरपालिका–२ का वडा सदस्य दिपेश प्रताप शाही, स्थानीय सुनिल पुन, प्रशान्तमणि रामदामलगायतले फोहोर फाल्न रोक्नुभन्दा पहिले नगरपालिकामा गइ पूर्व जानकारी दिए पनि नगरपालिका गम्भिर नभएको बताए ।
विगत ४ दिनयता नगरपालिकाले फोहोर फाल्दै आइरहेको ठाउँमा स्थानीयले अवरोध गरेपछि समस्या समाधान हुन सकेको छैन । सिद्धार्थनगरमा संकलित फोहोर सिद्धार्थनगर–२ स्थित मेउडिहवा नजिकै डण्डाखोलामा थुपार्ने गरिएको छ । फोहोर फाल्दै आएको स्थानको नजिकै पक्लिहवा कृषि क्याम्पस र सशस्त्र प्रहरी बल २७ नम्बर गण पनि रहेको छ ।
नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि नै समस्या समाधानका निम्ति लागिपरेको छु : मेयर खान
सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खानले आफूले नगरपालिकाको जिम्मेवारी सम्हालेदेखि नै फोहोरमैला व्यवस्थापनसम्बन्धी समस्या समाधानका निम्ति लागिपरेको दावी गरेका छन् । उनले तिहारसम्म समय दिन स्थानीयसँग आग्रह गरेको बताए । उनले भने, ‘कुनै प्रकारको झै–झगडा नहोस् भन्ने उद्देश्यले फोहोर फाल्ने स्थानमा सुरक्षाका लागि प्रहरी गएको हो । पूर्वाधार बनाउन पनि केही समय त लाग्छ । ’
विगत ३२ सालदेखि फोहोरमैला सम्बन्धी समस्या रहेको र नागरिक पीडामा रहेको कुरा आफूले बुझेको नगरप्रमुख खानले बताए । उनले भने, ‘केही समय त हामीलाई पनि दिनुपर्यो नी । यो सार्वजनिक महत्वको कुरा हो । सबैले चासो लिनुपर्छ । म नगरपालिकामा काम गर्न आएको हुँ । ’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij