
आइतवार , आषाढ ३, २०८०
बुटवल, ३ असार ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादनको तयारी भएको छ ।
बुटवल उपमहानगरपालिकाको विशेष पहलमा आम्दामा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययन सुरु गर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सिटीइभीटीसँग अनुमति माग गरिएको हो ।
आम्दा अस्पताल सञ्चालक समितिको आइतबार बसेको बैठकले अस्पतालमा डिप्लोमा इन फार्मेसी, पिसिएल नर्सिङ र एचए विषयको अध्ययनका लागि अनुमति प्राप्त हुने प्रक्रियामा रहेकाले आवश्यक काम अगाडि बढाउने निर्णय गरेको सञ्चालक समितिका अध्यक्ष समेत रहेका बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।
नगरप्रमुख पाण्डेयको नेतृत्वमा जापान गएको टोलीले गत जेठमा आम्दा इन्टरनेशनलसँग अस्पतालको स्तरोन्नति गर्दै जनशक्ति उत्पादनमा जोड दिने समझदारी गरेको थियो । सोही समझदारीअनुसार अस्पतालमा २ सय बेड थप गर्ने निर्णय सञ्चालक समितिको बैठकले अनुमोदन गरेको पाण्डेयले बताए ।
बुटवलको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाको सञ्चालक समितिमा रहेका बुटवल उपमहानगरपालिका, आम्दा नेपाल र बुटवल उद्योग वाणिज्य संघले अस्पतालको स्तरोन्नति गर्नका लागि सामुहिक प्रतिबद्धता जनाएका छन् ।
बैठकले समझदारी गरिएअनुसारका काम अगाडि बढाउनका लागि संघ र प्रदेश सरकारसँग समन्वय र सहजीकरण गर्ने निर्णय गरेको उनले बताए । त्यस्तै बैठकले आगामी कार्तिक १६ गते आम्दा अस्पताल स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा विभिन्न कार्यक्रम गरी रजत उत्सव मनाउने निर्णय गरेको छ ।
तत्कालीन नगरप्रमुख सूर्यप्रसाद प्रधानले समझदारी गरी स्थापना गरेको अस्पताललाई थप व्यवस्थित बनाउँदै बुटवल क्षेत्रकै विशिष्टीकृत अस्पतालका रुपमा अगाडि बढाउने गरी काम शुरु भएको नगरप्रमुख पाण्डेयले बताए ।
यस्तै अस्पतालमा न्युरोसम्बन्धि उपचार सुरु गर्नका लागि आवश्यक प्रक्रिया पूरा गर्ने गरी काम अगाडि बढाउने निर्णय बैठकले गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालले जानकारी दिए । उनका अनुसार अस्पतालमा बालबालिकाको लागि पुस्तकालय स्थापना गर्ने निर्णय पनि गरिएको छ ।
२०५३ सालमा बुटवल उपमहानगरपालिका–७ मा सिद्धार्थ बाल तथा महिला अस्पतालको स्थापना गरिएको थियो । ५० शय्याबाट सुरु भएको अस्पतालमा हाल १०० शय्या सञ्चालनमा छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij