
बिहिवार , जेठ ३२, २०८०
भैरहवा, ३२ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको वडा नम्बर ५ मा जेष्ठ नागरिक जागरुकता दिवस मनाइएको छ । विश्व जेष्ठ नागरिक दिवसको अवसरमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालय तथा जिल्ला प्रहरी कार्यालय रुपन्देहीको संयुक्त आयोजनामा जेष्ठ नागरिक जागरुकता दिवस मनाइएको हो ।
विश्व जेष्ठ नागरिक दिवसको अवसरमा वडा कार्यालयले वडाका जेष्ठ नागरिक ८५ वर्षीय जुद्धमान श्रेष्ठलाई खादा र सल ओढाएर सम्मान समेत गरेको छ ।
उक्त अवसरमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक सविता जि.सी.ले कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई कानूनी साक्षरता प्रदान गरेकी थिइन् । उनले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ अनुसार जेष्ठ नागरिकहरुलाई अधिकारहरु प्रदान गरेको बताइन् । कार्यक्रममा उनले कानूनले प्रदान गरेको अधिकार, छुट, सुविधालगायतका विषयमा जानकारी गराएकी थिइन् । ‘तपाईहरुलाई (जेष्ठ नागरिक) कसैले अत्याचार, दुव्र्यवहारलगायत कानूनविपरीत कार्य गरेमा प्रहरी कार्यालयमा प्रमाणसहित उजुरी दिनुहोला, कारवाही प्रक्रिया अघि बढ्छ’ उनले भनिन् ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले जेष्ठ नागरिकहरुका लागि वडाले विभिन्न कार्यहरु गर्दै आएको र अगामी दिनमा पनि कार्यहरु गर्दै जाने बताए । विगतमा पनि जेष्ठ नागरिकलाई सम्मान गरिएकोमा यस वर्ष पनि वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिने उनले जानकारी दिए । उनले वडाको कार्यालय वडावासीहरुको काँधमा काँध मिलाएर अघि बढ्न चाहेको बताउँदै सबैको साथले नै वडाको विकास हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडा नम्बर ५ को कार्यालयले प्रशंसनीय कार्यहरु गर्दै आएको बताए । उनले जेष्ठ नागरिकहरुको साथ बिना नगरको विकास गर्न सम्भव नरहेकोले विकासका लागि जेष्ठ नागरिकहरुको सुझाव/सल्लाह आवश्यक रहेको बताए । जेष्ठ नागरिकहरुलाई सम्मान गर्नुपर्ने, वृद्धवृद्धाहरुलाई दुव्र्यवहार गर्नु नहुने भन्दै कसैले गरेमा कानूनी व्यवस्था अनुसार सजाय हुने उनले बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्ग, समाजसेवी नारायण प्रसाद अग्रवाल, ओमकार गौचन, सुशील गुरुङ्गले जेष्ठ नागरिकहरुलाई सबैले सम्मान गर्नुपर्ने भन्दै वडा नम्बर ५ को कार्यालयले गरिरहेको कार्यहरुको प्रशंसा गरे ।
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, वडा सचिव बन्दना उपाध्यायको स्वागत मन्तव्य तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता, सिद्धार्थनगर–५ का वडाअध्यक्ष भरतसिंह बिजुक्छे, डा. शम्भु गुप्तालगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij