
बुधवार , जेठ ३१, २०८०
भैरहवा, ३१ जेठ ।
शैक्षिक गुणस्तर सुधार गर्नका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरु एक–अर्कालाई दोष दिनु भन्दा सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरे शिक्षा क्षेत्रको समस्या समाधान गर्न सकिने बताए ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले मंगलबार भैरहवामा आयोजना गरेको सिद्धार्थनगरको शिक्षाको अवस्था र सुधारका उपायहरु विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागीहरुले भैरहवाकै शैक्षिक संस्थाहरु अब्बल रहे पनि प्रचारप्रसारको कमीले विद्यार्थी भैरहवा बाहिर गएको बताए ।
कार्यक्रममा बोल्दै चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले शिक्षकले अभिभावकसँग समन्वय तथा सहकार्य गर्नुपर्ने बताए । उनले आवश्यकताको आधारमा विद्यालय मर्ज गर्नुपर्नेमा जोड दिए । उनले सुविधायुक्त विद्यालय हुँदाहुँदै विद्यार्थीहरुलाई भैरहवामा किन रोक्न सकिएन भन्नेबारे समीक्षा गर्नुपर्ने बताए । अध्यक्ष ज्ञवालीले शैक्षिक गुणस्तर सुधारका लागि अन्य स्थानका विद्यालयले गरेका राम्रा कुराहरु सिकेर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
संगठनका वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठले शिक्षकलाई प्राथमिकता दिनुपर्ने बताए । उनले सैद्वान्तिक भन्दा प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स, रुपन्देहीका महासचिव सचिन रोक्काले सिद्धार्थनगर नगरपालिकाभित्र सञ्चालित विद्यालयहरुलाई नमूना विद्यालय बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्नुपर्ने बताए ।
भानु माध्यमिक विद्यालयका प्राचार्य मोतीलाल सुवेदीले आफू विद्यालयमा हुँदासम्म राम्रो र छोडिसकेपछि नराम्रो भन्ने प्रवृत्ति हटाउनुपर्ने बताए । उनले शैक्षिक गुणस्तर सुधारका लागि सम्पूर्ण पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले अध्ययनका लागि भैरहवामै उपलब्ध विषयहरुका लागि आफ्ना छोराछोरीलाई भैरहवा बाहिर पठाउदिन भन्ने प्रण गर्नुपर्ने बताए । उनले भने, ‘अभिभावकलाई सचेतना आवश्यक छ । शिक्षासँगै स्वास्थ्य र सुरक्षा आवश्यक छ । ’ सुवेदीले विज्ञ टोली बनाएर विद्यालयका अनुगमन गर्नुपर्ने र भएका कमीकमजोरी सुधार्नुपर्नेमा जोड दिए । सोच परिवर्तन गर्न आवश्यक रहेको उनको भनाइ छ । कुनै पनि मुलुकको शिक्षा बिग्रिए देशको अवस्था सुधार गर्न नसकिने उनले बताए ।
श्री रुपन्देही लीलाराम न्यौपाने माविका प्राचार्य रुप कुमार रायमाझीले शिक्षामा सिद्धार्थनगर पछाडि छ भन्ने कुरा मान्न नसकिने बताए । उनले भने, ‘शैक्षिक अवस्था कमजोर/दयनीय छैन ।’ उनले अभिभावकको मनोविज्ञान बुझ्न र दक्ष शिक्षकलाई चिन्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए । खुल्ला मनले समीक्षा गर्नुपर्ने उनको भनाइ छ । रायमाझीले एक अर्कालाई प्रतिष्पर्धी ठान्नुभन्दा सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
प्याब्सनका केन्द्रीय उपाध्यक्ष विष्णु प्रसाद पन्थीले सामूदायिक र संस्थागत विद्यालयबीच अन्तरद्वन्द्व छ किन भन्ने भन्दै प्रश्न गरे । उनले संस्थागत विद्यालयले कमाउने मात्र काम गर्यो भनेर भ्रम फैलाइएको बताए । उनले संस्थागत विद्यालयले सेवा दिए वापत शुल्क लिएको बताए । उनले भने, ‘राज्यले विभेदभूर्ण नीति बनाएको छ । ’ पन्थीले शिक्षा क्षेत्रको विकासका लागि उद्योगी व्यवसायीको भूमिका पनि महत्वपूर्ण रहेको बताए ।
मून लाईट आवासीय माविका प्राचार्य राजेश राज जोशीले स्थानीय सरकारको पहल आवश्यक रहेको बताए । उनले सरकारलाई संस्थागत विद्यालयले सहयोग गरेको बताए । उनले भने, ‘दुवैप्रकारका विद्यालयलाई समान रुपमा हेर्नुपर्छ । ’
साई ग्लोबल एकेडेमीका सञ्चालक समिति सदस्य महेश भुर्तेलले संस्थागत र सामूदायिक विद्यालयबीच साझेदारी आवश्यक रहेको बताए ।
काशी नोबल एकेडेमीका प्राचार्य राजेन्द्र घिमिरेले सहकार्य, सहयोगको भावना र सकारात्मक सोच आवश्यक रहेको बताए । उनले भने, ‘निरुत्साहित ढंगले नजाऔं । ’
नेपाल नालन्दा आवासीय माविका प्रिन्सिपल युवराज पोख्रेलले १० वर्ष पहिला र अहिलेको अवस्थाको तुलना गर्दा परिवर्तन भएको बताए । उनले भने, आफैले आफैलाई विश्वास गरौं । सिद्धार्थनगरका विद्यालयमा पठनपाठन गर्ने वातावरण सिर्जना गर्नुपर्छ । इञ्जिनियर प्रदीप रायले संख्या भन्दा गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
साई ग्लोबल माविका प्राचार्य कौशलराज गौतमले विभिन्न निकायबीच हातेमालो आवश्यक रहेको बताए ।
जेसिज बोर्डिङ स्कूलका प्राचार्य हीरा गुरुङले छात्रवृत्तिमा विद्यालयहरुबीच विभेद किन भन्दै प्रश्न गरे ।
भानु माध्यमिक विद्यालय व्यवस्थापन समितिक अध्यक्ष फैज अहमद खानले आफ्नो कर्तव्यबाट कोही पनि पन्छिन नमिल्ने बताए । उनले विद्यालयहरुको अनुगमन गरी भएका कमीकमजोरी सुधार्नेतर्फ लाग्नुपर्ने बताए । उनले गफ गरेर मात्र नमूना विद्यालय बन्न नसक्ने बताए ।
सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले शैक्षिक गुणस्तर सुधारका लागि अधिकतम प्रयास भएको बताए । उनले भने, ‘शिक्षा क्षेत्रको विकासका लागि चिन्तन गरेका छौं । यो सकारात्मक कुरा हो ।’
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले अभिभावकलाई सचेत गर्नुपर्नेमा जोड दिए । उनले शिक्षकलाई सुविधा दिनुपर्ने र पुरस्कृत गर्नुपर्नेमा जोड दिए ।
चेम्बर अफ कमर्स, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको प्रमुख आतिथ्यता, संगठनका सचिव टीकाराम भट्टराईको स्वागत, वरिष्ठ उपाध्यक्ष दर्पण श्रेष्ठको धन्यवाद ज्ञापन तथा महासचिव सचिन रोक्काको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij