२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तीनदिने तालिम सम्पन्न

बुधवार , जेठ ३१, २०८०

भैरहवा, ३१ जेठ ।
भैरहवा सामुदायिक सिकाई केन्द्र सिद्धार्थनगर नगरपालिका–६, रुपन्देहीको आयोजनामा सञ्चालित विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तीनदिने तालिम मंगलबार सम्पन्न भएको छ । जेठ २८ गतेदेखि भैरहवास्थित श्री रुपन्देही लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा भएको तालिममा ३० जनाको सहभागीता रहेको भैरहवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तथा कार्यक्रम संयोजक सुरेन्द्र कुमार तिवारीले बताए ।

तालिम समापन कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका शिक्षा शाखा प्रमुख चेतनशील लम्सालले नियमित रुपमा शिक्षाबाट वञ्चित भएका व्यक्तिहरुलाई शिक्षा दिलाउन सामुदायिक केन्द्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनसम्बन्धी तालिम समय परिस्थितिअनुसार भएको बताए । उनले भने, ‘विपद् बाजा बजाएर आउँदैन । तालिमले सचेत गराएको छ । ’

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य हरि प्रसाद आचार्यले तालिममा सिकेका कुराहरु सदुपयोग गर्नुपर्ने बताए । उनले भने, ‘आफूले सिकेका कुरा अरुलाई पनि सिकाउनुपर्छ ।’ 

श्री रुपन्देही लीलाराम न्यौपाने माविका प्राचार्य रुप कुमार रायमाझीले विपदमा आफू सुरक्षित भएर अरुलाई
सहयोग गर्ने ज्ञान तालिमले दिएको बताए । उनले सिकेका कुरा व्यवहारमा लागू गर्न आग्रह गरे । 

भैरहवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीले सामुदायिक केन्द्र समुदायकै संस्था भएकाले समुदायको उपस्थिति आवश्यक रहेको बताए । उनले सिद्धार्थनगर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा गराउन भैरहवा सामुदायिक केन्द्रले अगुवाइ गरेको बताए । 

तालिममा सहभागीकोतर्फबाट बोल्दै साधना पंगेनी र लीलाराज थकालीले तालिममा धेरै कुरा सिक्ने मौका पाएको बताए ।

भैरहवा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष सुरेन्द्र कुमार तिवारीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव चेतनशील लम्सालको प्रमुख आतिथ्यता, सिद्धार्थनगर–८ का वडा सदस्य हरि प्रसाद आचार्यको विशिष्ट आतिथ्यता, अखिलेन्द्र पाण्डेयको स्वागत तथा प्रमुख प्रशिक्षक राजेश जि.सी.को सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । तालिममा प्रशिक्षक राजेश जि.सी. र ओम कुमारी चौधरीले सहजीकरण गरेका थिए ।