
मंगलवार , जेठ ३०, २०८०
बुटवल, ३० जेठ ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. बुटवलमा सञ्चालित २ महिने (३९० घण्टा) टायल मार्बल लगाउने तालिमको अनुगमन गरेकी छन् । उपमहानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित तालिममा २० जना युवाहरुको सहभागिता रहेको छ । खास गरी विपन्न परिवारका युवाहरुलाई व्यवसायिक सीपमुलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यका साथ बुटवल उपमहानगरपालिकाको मेयर युवा इलम कार्यक्रमअन्तर्गत टायल मार्बल लगाउने तालिम सञ्चालन गरिएको हो । गत वैशाख २० गते उपप्रमुख अर्यालद्वारा औपचारिक रुपमा समुद्घाटन गरिएको तारिमको सञ्चालन भएको ४० औं दिनमा मंगलबार उनले अनुगमन गरेकी छन् ।
उनले तालिममा युवाहरुले टायल मार्वल लगाउने कार्य अत्यन्तै राम्रो बनाएको भन्दै अनुगमनपश्चात खुसी व्यक्त गर्दै उत्पादन भएका दक्ष जनशक्तिलाई विदेश पलायन हुनबाट जोगाउँदै स्वदेशमै रोजगारी दिलाई आत्मनिर्भर बनाउने बताइन् । यसअघि बुटवल उपमहानगरपालिकाका रोजगार संयोजक अर्विन पाण्डे र अनुगमन शाखा प्रमुख ठगीश्वर पोख्रेलले उक्त तालिमको अनुगमन गरिसकेका छन् ।
जयन टेक्निकल कलेज अफ टेक्नोलोजी प्रा.लि. की प्रबन्ध निर्देशक नम्रता थापा श्रेष्ठले तालिमपछि दक्ष युवा शक्तिलाई टायल मार्वल एशोसियसन संघ रुपन्देही र विभिन्न संघ–संस्थासँग समन्वय गरी उनीहरुलाई रोजगारीको व्यवस्था गर्ने बताइन् । उनले संस्थाले लुम्बिनी प्रदेशका कपिलवस्तु, नवलपरासी, बर्दिया, कोहलपुर र नेपालगञ्जलगायत पूर्वका विभिन्न जिल्लाहरुमा समेत तालिमहरु सञ्चालन गरेको बताइन् ।
बेरोजगार युवायुवतीलाई लक्षित गर्दै बुटवलमा १५ वर्षदेखि प्राविधिक विषयमा लामो तथा छोटो अवधिका तालिमहरु सञ्चालन गरिएको कलेजका निर्देशक ज्वाला श्रेष्ठले बताए । उनले जयन टेक्निकल कलेजमा इलेक्ट्रिकल, मेकानिकल र कन्ट्रक्सन सेक्टरका तालिम दिनुका साथै बजारसँग माग भएका ३५/३६ वटा विषयमा तालिमहरु सञ्चालन गरिरहेको बताए ।
त्यसै गरी संस्थाले रुपन्देहीको तिलोत्तमामा तिलोत्तमा नगरपालिकाको समन्वय र इन्स्योर हेल्भेटासको आर्थिक सहयोगमा १० महिने कुक लेभल टु र पलम्बिङ लेबल टु तालिम पनि सञ्चालन गर्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij