images

मंगलवार, बैशाख ११ गते २०८१

बुटवलमा राजनीतिक दल, बैंक, वित्तीय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल

बुटवलमा राजनीतिक दल, बैंक, वित्तीय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल

images
images
images
बिहिवार, जेठ ४ २०८०
बिहिवार, जेठ ४ २०८०
  • बुटवलमा राजनीतिक दल, बैंक, वित्तीय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल

    बुटवल, ४ जेठ । 
    बुटवल उपमहानगरपालिकाले विभिन्न क्षेत्र र निकायका व्यक्तिहरुसँग सुझाव संकलन कार्यक्रमअन्तरगत बिहीबार राजनीतिक दल, बैंक, वित्तीय संस्था र इन्स्योरेन्सका प्रमुख तथा प्रतिनिधिहरुसँग छलफल गरेको छ ।

    images

    छलफलको चौधौं श्रृंखलाअन्तर्गत बिहीबार बिहान बैंक, वित्तीय संस्था र इन्स्योरेन्सका प्रतिनिधिसँग भएको छलफल कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलमा कार्यालय रहेका सबै बैंक, वित्तीय संस्था र इन्स्योरेन्सहरुलाई बुटवल उपमहानगरपालिका मातहतमा आउन आह्वान गरे । उनले बुटवलमा सञ्चालन भएर पनि वैधानिक हिसाबले करको दायरामा नआएका सबै बैंक, वित्तीय संस्था र इन्स्योरेन्सहरुलाई विधि र नियमको पालना गर्न आग्रह गरे ।

    उनले बुटवलको समृद्धिमा आर्थिक क्षेत्रमा सक्रिय संस्थाहरुको सकारात्मक भूमिका आवश्यक पर्ने भएकाले सहकार्य र समन्वय गर्नका लागि आग्रह गरे । उनले सामाजिक क्षेत्रमा सरकारी क्षेत्रको मात्रै नभई निजी क्षेत्रको समेत सक्रियता आवश्यक पर्ने भएकाले सामाजिक उत्तरदायित्व वहन गर्दै बुटवल उपमहानगरपालिकासँग सहकार्य गरी काम गर्न आग्रह गरे ।

    उनले सबै क्षेत्र र निकायसँगको छलफल र सुझावका आधारमा बुटवलको विकास सम्भव भएकाले सबैको सुझाव र सल्लाहलाई आत्मसाथ गर्दै आगामी नीति कार्यक्रम र बजेट ल्याउने बताए ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई समृद्ध बनाउनका लागि सबै क्षेत्रको सहकार्य र समन्वय जरुरी हुने बताइन् । उनले सामाजिक क्षेत्रमा धेरै काम गरेपनि उपमहानगरपालिकासँग समन्वय नगर्दा सरकारी हिसाबले कुनै तथ्यांकमा नरहेकोले समन्वय र सहकार्य गर्नका लागि आग्रह गरिन् ।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवलभित्र सञ्चालन भएका सबै खालका व्यवसाय कानूनको दायरामा आउनुपर्ने बताए । उनले सहकारीका क्षेत्रमा केही समस्या देखिएको र आगामी आर्थिक वर्षदेखि संघ, प्रदेश र स्थानीय तहका क्षेत्राधिकारमा पर्ने सबै सहकारीलाई कानूनी दायरामा ल्याउने र नियमन गर्ने गरी तयारी भइरहेको बताए ।

    कार्यक्रममा सहभागीहरुले बुटवल उपमहानगरपालिकासँग सहकार्य गरेर काम गर्न इच्छुक रहेकोले आगामी आर्थिक वर्षदेखि नीतिगत तहबाट सहकार्य र समन्वयको वातावरण तयार गर्न सुझाव दिएका थिए । उनीहरुले आर्थिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि स्थानीय सरकारका रुपमा वास्तविकता बाहिर ल्याउनका लागि अगुवाई गर्नुपर्ने बताएका थिए ।

    यस्तै बिहीबार दिउसो राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल तथा सुझाव संकलन कार्यक्रम भएको छ । राजनीतिक दलका जिल्ला, क्षेत्र र नगरका प्रमुख तथा प्रतिनिधिहरुसँग भएको छलफलका क्रममा दलका प्रतिनिधिहरुले बुटवलको विकासमा संघ, प्रदेश र स्थानीय सरकारका बीचमा योजना कार्यान्वयनमा समन्वय नहुँदा योजनाहरु समयमा पूरा हुन नसकेको बताए । उनीहरुले संघ र प्रदेशबाट साना योजनाहरु ल्याउने र योजना दोहोरिने गर्दा अलमल हुने गरेको बताएका थिए । दलका अध्यक्ष तथा प्रतिनिधिहरुले निर्माण कम्पनीहरुले समयमा काम सम्पन्न नगर्दा त्यसको दोष सरकार र राजनीतिक दलहरुमाथि आइरहेको भन्दै समयमा योजना पूरा नगर्ने निर्माण कम्पनीहरुलाई कारबाही गर्न सुझाव दिएका थिए ।

    बुटवलमा शिक्षा, स्वास्थ्यका क्षेत्रमा निजी र सरकारी क्षेत्रमै एकरुपता नभएको र सरकारी क्षेत्रलेसमेत निजीले जसरी रकम असुल्ने गरेको पाइएकोले त्यसलाई नियन्त्रण गर्नतर्फ बुटवलले चासो दिनुपर्ने सुझाव दिएका थिए ।

    कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवलले विकासमा लय समात्दै गरेको र आर्थिक वर्ष पूरा हुँदै गर्दा बुटवलको विकासको नतिजा देखिने बताए । उनले सबै राजनीतिक दलहरुको बुटवलको विकासको चासो र चिन्ता रहेको बताउँदै सकारात्मक र सिर्जनात्मक सुझावको अपेक्षा रहेको बताए ।

    कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सबै राजनीतिक दलहरु मिलेर बुटवलको विकासमा केन्द्रित हुनुपर्ने बताइन् ।

    प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले प्रशासनिक कामकारबाही चुस्त बनाउँदै जनतालाई सेवा प्रवाह गर्ने क्षेत्रमा सुधार भएको र सहज भएको बताए । 

     

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij