
शुक्रवार , बैशाख २९, २०८०
भैरहवा, २९ वैशाख ।
रूपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र गुण्डीमा प्रयोगशाला (ल्याब) सेवा सुरु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बिहीवार प्रयोगशालाको उद्घाटन गर्दै गाउँपालिकाको जनताहरुको लागि स्वास्थ्य सेवा प्रयोगशाला सुरु भएपछि थप सजिलो भएको बताए ।यो आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट दिइने सेवामा ल्याब सेवा पनि सुरु भएपछि सामान्य परीक्षणको लागि शहर धाउनुपर्ने बाध्यता अन्त्य भएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताए ।
सो क्रममा स्वास्थ्य शाखा प्रमुख प्रभु चौधरी, स्वास्थ्य शाखा उपप्रमुख शर्मिला शर्मा, मायादेवी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष अरुण कुमार तिवारी, आधारभूत स्वास्थ्य सेवा केन्द्र २ नम्बर पिपरहवाका सुरेश चौधरी, धमौली स्वास्थ्य शाखा प्रमुख नन्दराम पौडेल, गोनहा स्वास्थ्य शाखा प्रमुख बसन्त चौधरीलगायतले स्वास्थ्य सेवा केन्द्रबाट प्रदान हुने सबै किसिमका स्वास्थ्य सेवाहरु उपयोग गर्न सर्वसाधारलाई आग्रह गरे ।
वडा नम्बर ४ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्र गुण्डीबाट दैनिक ओपीडी सेवा, निःशुल्क औषधी प्रदान साथै प्रयोगशालाबाट रक्त समूह परीक्षण, मधुमेह (सुगर) परीक्षण, कोलेस्ट्रोल, पिसाब, यूरिक एसिड, क्रिटीनिन, एचआइभी, लेप्रोसी, एएनसी प्याकेजलगायतका विभिन्न परीक्षण हुने आधारभूत स्वास्थ्य सेवा केन्द्रकी सिअनमी अनुराधा चौधरीले बताइन् । प्रयोगशाला शुभारम्भ कार्यक्रमको सञ्चालन सेवा केन्द्र प्रमुख देवीदिन चौधरीले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij