२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्नुपर्छ : तिलोत्तमा उपप्रमुख चौधरी

बिहिवार , बैशाख २८, २०८०

रुपन्देही, २८ वैशाख । 
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चौधरीले सत्यतथ्यमा आधारित रहेर समाचार सम्प्रेषण गर्न पत्रकारहरुसँग आग्रह गरेकी छन् ।

नगरपालिकाको सहकार्यमा सञ्चारिका समूह रुपन्देहीले  बिहीबार शंकरपुरमा आयोजना गरेको खोजमूलक समाचार लेखन तालिमको शुभारम्भ गर्दै उनले पछिल्लो समय खोजमूलक समाचार कम आउन थालेकाले यसतर्फ सक्रियता बढाउन अनुरोध गरिन् । 

‘महिला पत्रकारको पनि सञ्चारमा सक्रिय सहभागीता छ अझै खोजमूलक समाचार लेखनलाई अघि बढाउनुपर्छ, तपाईहरुको क्षमता बढाउन साथ दिनका लागि नगरपालिका तयार छ, ’उनले भनिन् ।

गलत र भ्रामक समाचारलाई मिडियामा स्थान नदिन आग्रह गर्दै उनले यसले पत्रकारकै प्रतिष्ठा घट्ने धारणा राखिन् । पत्रकारले राजनीतिक पूर्वाग्रह राखेर समाचार लेख्न नहुने उनको भनाइ थियो ।

कार्यक्रममा तालिमका प्रशिक्षक तथा सञ्चारिका समूह रुपन्देहीका सल्लाहकार अमृता अनमोलले स्थानीय सरकारले गरेका असल अभ्यासहरुलाई मिडियामार्फत जनतामाझ लैजान जरुरी रहेको बताइन् । त्यसका लागि स्थानीय तहले पत्रकार सम्बद्ध सस्थासँग समन्वय गर्नुपर्ने उनले धारणा राखिन् ।

सञ्चारिका समूह रुपन्देहीका अध्यक्ष निरु गौतमले पत्रकार महिलाहरुको पेशागत दक्षता बढाउन नगरपालिकासँगको सहकार्यमा तालिमको आयोजना गरिएको बताइन् । उनले सञ्चार संस्थामा पत्रकार महिलाहरुको संख्या कम भएकाले उनीहरुलाई पेशामा टिकाउन र सक्षम बनाउन यस्ता खालका तालिम सहयोगी हुने उल्लेख गरिन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारहरुको क्षमता बढाउन र आफ्ना राम्रा कामको प्रचार गर्न सबै स्थानीय तहले यस्ता तालिम तथा छलफल आयोजना गर्नुपर्ने बताए ।

कार्यक्रममा चलचित्र पत्रकार संघ रुपन्देहीका अध्यक्ष मोहन न्यौपाने, सञ्चारिका समूह रुपन्देहीका उपाध्यक्ष मीना ढकाल, महासचिव अस्मिना पाण्डे, क्रियाशिल पत्रकार महिला समूहका सचिव विन्दु भट्टराईलगायतले बोल्दै पत्रकार महिलालाई मिडियामा टिकाउन र  लेखन क्षमता बढाउन तालिम फलदायी हुने विश्वास व्यक्त गरे ।

पत्रकार महिलाहरुका लागि आयोजना गरिएको खोजमूलक समाचार लेखन तालिममा प्रशिक्षक अमृता अनमोल र  तिलोत्तमा मिडिया क्लबका अध्यक्ष बिपी गौतमले प्रशिक्षण दिएका थिए । तालिममा ३० जना पत्रकार महिलाको सहभागीता रहेको थियो ।