२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सिद्धार्थनगर–५ मा निःशुल्क आँखा शिविर, २६५ जनाले पाए सेवा 

शुक्रवार , बैशाख १५, २०८०

भैरहवा, १५ वैशाख ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ मा एकदिने निःशुल्क आँखा परीक्षण शिविर भएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ को कार्यालयको आयोजना तथा लुम्बिनी रण अम्बिका शाह आँखा अस्पताल भैरहवाको प्राविधिक सहयोगमा शुक्रबार मारवाडी सेवा संघको सभाहलमा शिविर भएको हो । शिविरमा २६५ जनाको आँखा परीक्षण भएको वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले बताए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि समाजसेवी तथा उद्योगी नारायण प्रसाद अग्रवालले वडा कार्यालयले आँखा शिविर आयोजना गरेर सराहनीय कार्य गरेको भन्दै प्रशंसा गरे । उनले भने, ‘वडाअध्यक्षमा पुरन प्रसाद श्रेष्ठ निर्वाचित भएपछि उहाँले समयसमयमा केही न केही कार्यक्रम गर्दै आउनुभएको छ । ’

विशिष्ट अतिथि नेपाल नेत्र ज्योति संघ रुपन्देहीका सभापति तथा वरिष्ठ अधिवक्ता कमल राज जोशीले नेत्र ज्योति संघले आँखा अस्पताल सञ्चालन गर्दै आएको बताए । उनले अस्पताल भित्र मात्र सेवा केन्द्रीत नभइ अस्पताल बाहिर पनि बिरामीलाई सेवा प्रदान गरिएको बताए ।

सिद्धार्थनगर नगरपालिका–५ का वडाअध्यक्ष पुरन प्रसाद श्रेष्ठले जनताबाट निर्वाचित जनप्रतिनिधि जनताको सेवाका लागि तत्पर रहेको बताए । उनले आँखा शिविरका लागि वडाबाट बजेट विनियोजन गरिएको जानकारी दिए । उनले आँखाले संसार देखिने भएकाले आँखा स्वास्थ्यमा ध्यान दिनुपर्ने बताए ।

सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले आँखा शिविर आफैमा महत्वपूर्ण र राम्रो कार्य भएको बताए ।

सिद्धार्थनगर–५ का वडा सदस्य विनित बेरिवालको स्वागत तथा वडा सदस्य सरस्वती श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा सिद्धार्थनगर–१ का वडाअध्यक्ष उज्जवल पोखरेल, २ का वडाअध्यक्ष छेदीलाल श्रीवास्तव, भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ता, विद्यालयका प्राचार्य चुन्न प्रसाद पाण्डे, समाजसेवी देवराज न्यौपाने, सुमन शर्मा, लेखनाथ भट्टराईलगायतको आतिथ्यता रहेको थियो ।