
बुधवार , बैशाख १३, २०८०
लुम्बिनी, १३ वैशाख ।
लुम्बिनीलाई औंलो रोगमुक्त बनाउन गोष्ठी तथा छलफललाई तीव्रता दिइएको छ । विश्व औंलो दिवसको अवसर पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग ईपिडिमियालोजी रोग नियन्त्रण महाशाखा तथा लुम्बिनी साँस्कृतिक नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार भएको एकदिवसीय गोष्ठीमार्फत शुन्य औंलो बनाउने अभियानमा लाग्न सबैलाई सन्देश छरिएको स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिका उपप्रमुख कल्पना हरिजनले सरसफाईलाई जोड नदिएकै कारण औंलो रोग हुने बताएकी छन् । लामखुट्टेबाट सर्ने रोग औंलो रोग नियन्त्रण गर्न र हुन नदिन विभिन्न जनचेतनामूलक कार्यक्रमलाई टोलटोलमा संञ्चालन गर्नुपर्ने उनले सुझाइन् । मानव जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रलाई नगरपालिकाले विशेष चासोको साथ हेरिएको बताउँदै उपप्रमुख हरिजनले आगामी दिनमा बजेट निर्माण गर्दा समेत प्राथमिकता दिने बताइन् ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र अर्यालले खानेपानी तथा शौचालय जस्ता समस्यालाई नीति तथा कार्यक्रममा राखेर दीर्घकालीन योजना तर्जुमा गर्नुपर्ने बताए । अशिक्षाकै कारण जटिल प्रकृतिका रोगको शिकार नगरबासी बन्न पुग्ने बताउँदै अर्यालले मलेरिया रोग लाग्न नदिन झुल अनियवार्य प्रयोग र व्यक्तिगत सरसफाईलाई जोड दिनुपर्र्ने बताए ।
नगरपालिकामा रहेका विभिन्न शाखा, वडामा रहेका स्वास्थ्य चौकीका प्रमुखबीच सो कार्यक्रम भएको थियो ।स्टाफ नर्स स्मृति गौतमको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij