
शुक्रवार , बैशाख ८, २०८०
रुपन्देही, ९ वैशाख ।
रुन्देहीको सियारी गाउँपालिकाले मुस्लिम समुदायको पर्व रमजानको अवसरमा मस्जिदमै पुगेर फलफूल वितरण गरेको छ ।
मुस्लिम समुदायको पर्व रमजानको अन्तिम हुनै लाग्दा सियारी गाउँपालिकाले पालिकाभित्रका सबै मस्जिदमा पुगेर फलफूल वितरण गरेको हो ।
सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरे, उपाध्यक्ष तारा थारु, वडा अध्यक्षहरु दीपक बहादुर शाही, श्रीराम यादव, रामचन्द्र कुर्मीलगायतले पालिकाभित्र रहेका ८ वटा मस्जिदमा पुगेर एउटा मस्जिदलाई ५ हजार बराबरको फलफुल प्रदान गरे ।
रोजा (वर्त) बसेका मुस्लिम समुदायलाई रोजा खोलेपछि खान मिल्ने गरी स्याउ, केरा, सुन्तला र खरबुजा लगायतका फलफूल प्रदान गरिएको गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले जानकारी दिए ।
उनले स्थानीय सरकारले सबै धर्म र समुदायलाई समान व्यवहार गर्ने उल्लेख गर्दै सबै धर्म, वर्ग र समुदायको साथमा स्थानीय सरकार रहेको उल्लेख गरे । अध्यक्ष घिमिरेले स्थानीय सरकारले आगामी दिनमा पनि अन्य धर्म र समुदाय विशेषका पर्वलाई पनि ध्यानमा दिएर काम गर्ने बताए ।
गएको वर्षमा नयाँ वर्षसँगै रोजा पर्व सुरु भएको थियो । यो पर्वमा एक महिनाभर मुस्लिम समुदायले बिहान सूर्योदय हुनुअघिदेखि सूर्यास्त नभएसम्म पानीसमेत खाँदैनन् । मुस्लिम समुदायको पर्व रमजानको शनिबार अन्तिम दिन हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij