images

सोमवार, बैशाख १७ गते २०८१

मेयर कप–२०७९ को विजेता सिद्धार्थनगर–६ का खेलाडीहरुलाई सम्मान

मेयर कप–२०७९ को विजेता सिद्धार्थनगर–६ का खेलाडीहरुलाई सम्मान

images
images
images
सोमवार, बैशाख ४ २०८०
सोमवार, बैशाख ४ २०८०
  • मेयर कप–२०७९ को विजेता सिद्धार्थनगर–६ का खेलाडीहरुलाई सम्मान

    भैरहवा, ४ वैशाख ।
    सिद्धार्थनगर नगरपालिका, रुपन्देहीको आयोजनामा चैत २२ देखि २५ गतेसम्म भैरहवामा भएको नगरस्तरीय मेयर कप क्रिकेट प्रतियोगिताको विजेता सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का खेलाडीहरुलाई सम्मान गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ वडा कार्यालयले आइतबार खेलाडीहरुलाई बधाई दिदै सम्मान गरेको हो । वडा कार्यालयले प्रतिखेलाडी नगद रु. ३ हजार, मेडल तथा प्रमाणपत्रसहित सम्मान गरेको हो ।

    images

    फाइनल खेलमा वडा नम्बर ३ माथि ८ विकेटको जीत निकाल्दै सिद्धार्थनगर–६ ले मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि चुम्न सफल भएको थियो । जीतसँगै वडा नम्बर ६ ले नगद ५१ हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको अगुवाइमा वडा नम्बर ६ ले प्रतियोगिताको उपाधि जित्न सफल भएको बताए । उनले विजेता खेलाडीहरु आगामी दिनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरुमा पनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘वडा नम्बर ६ का खेलाडीहरुले राम्रो खेल प्रदर्शन गर्नुभएको छ ।’

    IMG_4636.JPG

    रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाले सम्मानले खेलाडीमा उर्जा थपिएको बताए । उनले खेलकुद क्षेत्रमा सिद्धार्थनगर नगरपालिकाले सहयोग गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरे । उनले भने, ‘खेलाडी बधाई तथा सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा खुसी भएको छु, खेलकुदको विकासका लागि एकजुट भएर अघि बढ्नुपर्छ ।’

    सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवले क्रिकेटको विकासका लागि वडास्तरबाट पनि बजेट विनियोजन गरिएको बताए । उनले वडा नम्बर ६ को जीतले निकै नै हर्षित भएको बताए । उनले भने, ‘मेरो रगतमा क्रिकेट छ ।’

    भैरहवा नमूना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आनन्द प्रसाद गुप्ताले खेलाडीलाई प्रतियोगितामा सहभागी गरेर मात्र जिम्मेवारी पूरा हुन नसक्ने बताए । उनले नगरपालिकामा सञ्चालित विभिन्न विकास निर्माण कार्यको अनुगमन गर्न आवश्यक रहेको बताए ।

    समाजसेवी कमला थापाले मेयर कप क्रिकेट प्रतियोगिताको पुरस्कारको राशी बढाउनुपर्ने बताइन् । उनले विगतमा आफूले पनि क्रिकेट खेलाडीहरुलाई सहयोग गरेको र आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

    नेपाली कांग्रेस सिद्धार्थनगर–६ का सभापति राम बहादुर गुरुङले खेलाडी राष्ट्रको गहना भएको बताए । उनले खेलकुद क्षेत्रको विकासका लागि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

    नेकपा (एमाले) सिद्धार्थनगर–६ का अध्यक्ष राम दयाल गुप्ताले क्रिकेटसँगै अन्य खेल प्रतियोगिताहरु पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले खेलकुद क्षेत्रको विकासमा आफूले सहयोग गर्ने बताए ।

    जनता समाजवादी पार्टी, नेपाल (जसपा) का नेता सियाराम यादवले सियाराम यादवले वडा नम्बर ६ का खेलाडी टीमले पाएको सफलताले आफूले खुसीले गदगद भएको बताए । उनले आगामी दिनमा पनि उत्कृष्ट खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरे ।

    सिद्धार्थनगर–६ का वडाअध्यक्ष विरेन्द्रनाथ श्रीवास्तवको अध्यक्षता, नगरप्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यता, रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि बहादुर थापाको विशिष्ट आतिथ्यता, वडा सदस्य अनिल अनिल कुमार के.सी.को स्वागत तथा विशाल श्रीवास्तवको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रमको उद्देश्यमाथि खेलाडी सन्त कुमार कुर्मीले प्रकाश पारेका थिए ।

    कार्यक्रममा स्व. मुक्ति जोशीको स्मृतिमा बेष्ट ब्याट्सम्यान अर्जुन कुर्मी, बेष्ट बलर अमर मिश्रा र टीम क्याप्टेन सलिम अलीलाई नगदसहित सम्मान गरिएको थियो ।

    images
    images
    images
    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij