२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल

शुक्रवार , चैत्र १७, २०७९

बुटवल, १७ चैत । 
रुपन्देहीको बुटवल उपमहानगरपालिका र विश्व बैंकका प्रतिनिधि तथा विकास साझेदारहरुसँग बुटवलको विकासबारे छलफल भएको छ । बुटवल उपमहानगरपालिकामा बिहीबार आयोजित छलफलमा बुटवलका तर्फबाट ८ वटा योजनाको प्रस्ताव गरिएको छ ।

नगरप्रमुख खेलराज पाण्डेयले बुटवलको एकचरणको विकास अगाडि बढिसकेकोले बाँकी पूर्वाधारहरु निर्माणका लागि योजना प्रस्ताव गरे । उनले बुटवलको १ सय ५० किलोमिटर आन्तरिक सडक, मुख्य र सहायक मार्गको १ सय ३५ किलोमिटर खुला नाली निर्माण, तिनाउ नदी नियन्त्रण तथा जलपर्यटन, पुरानो बुटवलको मौलिकता संरक्षण गर्दै पुरानो बुटवलको पुनःनिर्माण र पर्यटकीय स्थलको विकास, प्रत्येक वडामा सुविधासम्पन्न शहरी स्वास्थ्य केन्द्र निर्माण, महिला उद्यमशीलता तथा सशक्तिकरण, पार्किङ र व्यवसायिक भवन निर्माण र हरियाली पार्कहरु निर्माणका लागि प्रस्ताव गरे ।

विकास साझेदारहरु विश्व बैंक, युएनडीपी, बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय, बेलायती दुतावास काठमाडौं, शहरी विकास मन्त्रालयका प्रतिनिधिसहितको छलफलमा नगरप्रमुख पाण्डेयले विकासका दृष्टिले बुटवलले अगुवाई गर्दै गरेको अवस्थामा बुटवललाई देशकै समृद्ध शहरका रुपमा स्थापित गर्नका लागि विकास साझेदारहरुसँगको सहकार्य जरुरी रहेको बताए ।

उनले नेपाल जस्तो विकासमा उदाउँदै गरेको देशलाई विदेशी दातृ निकायहरुको साथ र सहकार्य आवश्यक पर्ने र स्थानीय सरकारका रुपमा विकास र समृद्धिका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताए । यसअघि पनि विकास साझेदारहरुसँग छलफल गरिरहेको बताउँदै प्रमुख पाण्डेयले बुटवलको विकासको लाभ बुटवल आसपासका एक दर्जन भन्दा बढी जिल्लाले लिन सक्ने बताए ।

छलफल कार्यक्रममा बोल्दै विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले बुटवल जस्तो उदाउँदो शहरसँग सहकार्यका लागि हात अगाडि बढाउने बताए । उनले बुटवलको तीब्र विकासले आफुहरु प्रभावित भएको बताउँदै बुटवलमा कुनै न कुनै योजनामा काम गर्न आफूहरु इच्छुक रहेको बताए । उनले बुटवलका प्रस्तावहरु राम्रा रहेको र त्यसले आम नागरिकलाई प्रशस्त लाभ हुने भएकाले विश्व बैंक सकारात्मक रहेको उल्लेख गरे ।

कार्यक्रममा बेलायती दुतावासकी प्रतिनिधि सविता थापाले बुटवलको विकासमा हातेमालो गर्न इच्छुक रहेको बताइन् । उनले जनतालाई लाभ हुने योजनामा सहकार्य गर्नका लागि सकारात्मक रहेको बताइन् ।

युएनडीपीका प्रतिनिधि एन्डर्स म्याग्नुसनले बुटवलले विकासमा राम्रो प्रगति गरेको बताउँदै नयाँ योजनाहरुमा काम गर्नका लागि सकारात्मक रहेको बताइ ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासका लागि विकास साझेदारहरुको साथ आवश्यक रहेको बताइन् ।

यस्तै, प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बुटवललाई समृद्ध बनाउने गरी योजनाहरु तयार रहेको र त्यसका लागि आवश्यक सहकार्य गर्नका लागि विकास साझेदारहरुलाई आग्रह गरे ।

कार्यक्रममा योजना महाशाखा प्रमुख सुमन श्रेष्ठले बुटवलका योजना र विकासका सम्भावनाहरुबारे जानकारी गराएका थिए ।
छलफलपश्चात्, बुटवल उपमहानगरपालिका र विकास साझेदारहरुसहितको टोलीले पुरानो बुटवल र जितगढी किल्ला क्षेत्रको अवलोकन गरेको थियो ।