
बिहिवार , चैत्र २, २०७९
भैरहवा, १ चैत ।
रुपन्देहीको सियारी गाउँपालिकाले ९५ प्रतिशत योजनाको सम्झौता गरेको छ । गाउँपालिकाको गाउँसभाबाट पारित गरेका योजनामध्ये ९५ प्रतिशत योजनाको सम्झौता गरी कामको सुरुवात गरिसकेको जनाएको छ ।
सम्झौता भएका १७८ योजनामध्ये ६० वटा योजनाको निर्माण सम्पन्न भइसकेको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी दिए । सियारीले सडक, नाली, कल्भट, भवन तथा आवास निर्माण, धर्मशाला निर्माण लगायतका पूर्वाधार निर्माणका काम तीव्र रुपमा अगाडि बढेको योजना शाखा प्रमुख पुरीले जानकारी दिए । उनले असार मसान्तभित्रै योजनाको निर्माण कार्यसम्पन्न गर्ने गरी काम भइरहेको उल्लेख गर्दै सम्पन्न भएका योजनाको भुक्तानी दिने काम पनि भइरहेको जानकारी दिए ।
गाउँपालिकाले पालिकाभित्र सुरु भएका विकास निर्माणका कामको अनुगमनलाई पनि तीव्रता दिएको छ । पालिकाले विभिन्न उपभोक्ता समूह तथा ठेक्का सम्झौतामार्फत निर्माण व्यवसायीले सुरु गरेका विकास निर्माणका कामको गुणस्तर तथा कामको प्रगतिबारे बुझ्नका लागि अनुगमनलाई तीव्रता दिको गाउँपालिका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक तारा थारुले जानकारी दिइन् । उनले गाउँपालिकाले सुरु गरेको योजनाको भुक्तानी गर्नु पूर्व सबै योजनाको अनुगमन गर्ने गरिएको बताउँदै समयमै काम नगर्ने तथा गुणस्तरहीन काम गर्ने उपभोक्ता समिति तथा निर्माण व्यवसायीको कुनै पनि रकम भुक्तानी नहुने बताइन् ।
उपाध्यक्ष थारुको संयोजकत्वमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, योजना शाखा प्रमुख रोमलाल पुरी, आर्थिक प्रशाशन शाखा प्रमुख नारायण प्रसाद पौडेल, सम्बन्धित वडाका जनप्रतिनिधि लगाएतले निर्माणधिन योजनाको अनुगमन गर्ने गरेका छन् । सियारीमा गाउँपालिकास्तरका १० करोड ७१ लाख ६९ हजार बराबरका तथा वडास्तरमा ७ करोड २१ लाख बराबरका योजना निर्माणको चरणमा रहेका छन् ।
सियारीले सडक निर्माण, कुलो निर्माण, बाध निर्माण, भवन तथा आवास निर्माण, विद्यालयका भवन निर्माण लगायतका कामलाई प्राथमिकतामा राखेको जनाएको छ । काम भइरहेका योजनामध्ये ३३ वटा योजनाको पेश्की निकासा भइसकेको तथा ६ वटाको रनिङ वील अगाडि बढेको गाउँपालिकाले जानएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij