
बुधवार , चैत्र १, २०७९
भैरहवा, १ चैत ।
रुपन्देहीको ओमसतिया गाउँपालिकामा अध्यक्ष कप–२०७९ बुधबारदेखि सुरु भएको छ । ओमसतिया गाउँपालिका क्रिकेट खेलाडीको लागि उर्वरभूमि भएको र यहाँबाट नयाँनयाँ खेलाडी उत्पादन गर्ने लक्ष्यसहित अध्यक्ष कप सुरु गरिएको आयोजकको भनाइ छ ।
बुधबार भएको उद्घाटन खेलमा ओमसतिया–४ ले ओमसतिया–३ लाई ४ विकेटले पराजित गरेको छ । सुरुमा ब्याटिङ गर्न आएको वडा नम्बर ३ ले निर्धारित १५ ओभर पुरा खेल्दै ९ विकेटको क्षतिमा १ सय २४ बनाएको थियो । उसको लागि मनिराम चौधरीले सर्वाधिक ३५ रन बनाउँदा असमान चौधरीले १७ रन र धर्मेन्द्र चौधरीले १६ रन बनाए ।
बलिङतर्फ ओमसतिया ४ का पिन्टु सहानीले ३ विकेट लिए । त्यस्तै धनन्जय धवल र अमर लिम्बुले समान २/२ विकेट लिए । १२५ रनको लक्ष्यसहित मैदान छिरेको वडा नम्बर ४ लाई धवल दाजुभाईले सहज जीततर्फ डोर्याएका थिए । वडा नम्बर ४ का धनन्जय धवलले अर्धशतकीय पारी खेल्दै आफ्नो टीमलाई जीत दिलाए । उनले २२ बलमा ५९ रन बनाउन ७ वटा छक्का र २ वटा चौका प्रहार गरेका थिए । त्यस्तै संजय धवलले २७ रन र पिन्टु सहानीको ८ रनको सहयोगमा खेलको १३ औ ओभरमै वडा नम्बर ४ ले निर्धारित लक्ष्य भेटेको थियो । बलिङतर्फ वडा नम्बर ३ का दिपेन्द्र यादव, सुरेन्द्र, चन्दन र सुशिलले समान १/१ विकेट लिएका थिए ।
द राईजिङ्ग क्लब अफ बर्दिहवाको आयोजना तथा ओमसतिया गाउँपालिकाको सहयोगमा प्रतियोगिता ओमसतिया–२ स्थित कर्मडाडा खैलमैदानमा चैत ९ गतेसम्म सञ्चालन हुनेछ । गाउँपालिकाका ६ वटै वडाका टीम र गाउँपालिकाको दुई टीम प्रतियोगितामा ८ टी रहेका छन् । प्रतियोगिताको प्रथम पुरस्कार ६० हजार, द्वितीय पुरस्कार ३० हजार रहेको द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताले बताए । यसको साथै प्रतियोगिताको म्यान अफ द म्याच, म्यान अफ द सिरिज, बेस्ट बलर, बेस्ट ब्याटर लगायतलाई पनि पुरस्कृत गरिने गुप्ताले जानकारी दिए ।
बिहीबार (भोलि) पहिलो खेल गाउँपालिकाको टीम ए र वडा नम्बर ५ तथा दोस्रो खेल गाउँपालिका टीम बी र वडा नम्बर ६ बीच हुने आयोजकले बताए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले ओमसतियामा राष्ट्रियस्तरका खेलाडीहरु रहेको र उनीहरुलाई नयाँ पुस्ताले पनि पछ्याउने गरेको कारण युवा खेलाडीहरुलाई यस खेलमा उत्प्रेरित गर्न क्रिकेटको आयोजना गरिएको बताए । उनले गाउँपालिकाले क्रिकेटलाई मात्र नभइ अन्य खेललाई पनि उत्तिकै सम्मान गरेको र अन्य खेलहरु पनि आयोजना गर्दै जाने बताए ।
द राईजिङ्ग क्लब अफ बर्दिहवाका अध्यक्ष प्रविन गुप्ताको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष सुनिता चौधरी, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ५ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता मदन प्रसाद पोखरेल, वडा नम्बर २ का वडाअध्यक्ष शितल जिटी, ३ का प्रकाश सिंह चौधरी, ४ का अखिलेश्वर कुमार पाण्डे, ६ का वडाअध्यक्ष शिव कुमार धवलले बोलेका थिए । कार्यक्रमको सञ्चालन गाउँपालिकाका रोजगार सहायक मनोज कुमार यादवले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij