२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवल धार्मिक विश्रामस्थल बन्नेछ : नगरप्रमुख पाण्डेय

बुधवार , चैत्र १, २०७९

बुटवल, १ चैत ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न बुधबार धार्मिक संघ-संस्थाका व्यक्तिहरुसँग छलफल गरेको छ । छलफलमा सहभागी धार्मिक संघ–संस्थाका व्यक्तिहरुले धार्मिक सद्भाव कायम राख्नका लागि सबै एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उदेश्यले धार्मिक संघ–संस्थाका अगुवाहरुसँग बुधबार गरेको छलफलमा सहभागी वक्ताहरुले धार्मिक क्षेत्रलाई उपमहानगरपालिकाले दर्ता गरेर सँगसँगै लैजानुपर्ने बताएका हुन् । उनीहरुले धार्मिक हिसाबले सद्भावपूर्ण शहरका रुपमा बुटवल रहेको भन्दै यसलाई एउटै छातामुनि राखेर समान व्यवहार गर्ने नीति ल्याउन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई धार्मिक सद्भाव र धार्मिक पर्यटकीय स्थलका रुपमा समेत विकास गर्ने योजना रहेकाले त्यसैअनुसार मठमन्दिर, विहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिकस्थल बनाउने गरी तयार हुन संघ–संस्थाका अध्यक्षहरुलाई आग्रह गरे ।
उनले बुटवल ऐतिहासिक र धार्मिक हिसाबले अगुवा शहर भएकाले धार्मिक विश्रामस्थलका रुपमा विकास गर्नका लागि धार्मिक संघसंस्थाहरुले अगुवाई गर्नुपर्ने बताए । उनले धार्मिक संघसंस्थाहरुलाई साथ दिन र सँग लिएर अगाडि बढ्न उपमहानगरपालिका तयार रहेको बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले धार्मिक स्थलहरुलाई पर्यटकीय स्थलका रुपमा स्थापित गराउनुपर्ने बताइन् । उनले बुटवलभित्रका धार्मिक संघसंस्थाहरुले धार्मिक एकता र सद्भाव कायम राख्नका लागि भूमिका निर्वाह गर्नुपर्ने बताइन् ।

कार्यक्रममा बुटवलभित्रका मठमन्दिर, धाम, विहार, गुम्बा, मस्जिद, चर्चलगायतका धार्मिक संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु सहभागी थिए ।
बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवाप्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।

सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले बताए । जसअनुसार चैत २ गते महिला स्वयम्सेविका र सामुदायिक वन र पार्कका अध्यक्षहरुसँग छलफल गरिने उनले बताए ।

यस्तै, चैत ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघ–संस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु र हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोल विकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सामाजिक विकास महाशाखा प्रमुख तथा सूचना अधिकारी तुलसा अर्यालले बताइन् ।

यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसिजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको नगरप्रवक्ता शिव रानाले जानकारी दिए ।
सार्वजनिक सरोकार राख्ने संघ–संस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको उनले बताए ।