
सोमवार , फाल्गुण २९, २०७९
बुटवल, २९ फागुन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले सेवा प्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्ने उद्देश्यले विज्ञ तथा सरोकारवालाहरुसँग छलफल थालेको छ । बुटवललाई देशकै अगुवा शहर बनाउनका लागि योजना निर्माण गर्दै सेवा प्रवाहलगायतका विषयमा विज्ञहरुको रायसुझाव लिने अभियानको थालनी गरेको हो ।
सोमबारदेखि आगामी चैत ८ गते बुधबारसम्म नियमित रुपमा सञ्चालन हुने क्षेत्रगत सुझाव संकलन तथा समन्वयसम्बन्धि कार्यक्रममा बुटवलभित्रका विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गरिने नगरप्रमुख खेलराज पाण्डेयले बताए ।
जसअनुसार सोमबार कानून व्यवसायी, इन्जिनियर र चिकित्सकहरुसँग छलफल गरिएको छ । चैत १ गते धार्मिक सं–घसंस्थाका प्रमुखहरुसँग, चैत २ गते महिला स्वयंसेविका र सामुदायिक वन र पार्कका अध्यक्षहरुसँग छलफल गरिने बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए ।
यस्तै, चैत ३ गते सहकारी संस्थाका अध्यक्षहरु र व्यवसायिक संघ–संस्था, यातायात व्यवसायी समितिहरु, निर्माण व्यवसायीहरु, हाटबजार व्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।
चैत ४ गते अस्पतालका प्रमुख तथा कार्यकारी निर्देशकहरु, ५ गते संस्थागत विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, सामुदायिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरु, ६ गते टोल विकास संस्थाका अध्यक्षहरुसँग छलफल गर्ने कार्यक्रम रहेको शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले बताए ।
यस्तै, चैत ७ गते खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष, लायन्स, लियो, लायनेस, जेसीजलगायतका गैरसरकारी संस्थाहरुसँग र ८ गते सरकारी तथा निजी क्याम्पसका अध्यक्ष र क्याम्पस प्रमुखहरुसँग छलफल गर्ने कार्यक्रम रहेको सूचना अधिकारी तुलसा अर्यालले बताइन् ।
सार्वजनिक सरोकार राख्ने संघ–संस्था तथा सरोकारवालाहरुसँग छलफल गरेपछि जनताका समस्या बुझ्ने गरी जनस्तरसम्म पुग्ने र सुझाव लिने कार्यक्रम रहेको नगर प्रवक्ता शिव रानाले जानकारी दिए ।
आवश्यकताअनुसार प्राथमिकता निर्धारण गर्न सुझाव
सोमबार आयोजित छलफल कार्यक्रममा बोल्ने विज्ञ तथा सरोकारवालाहरुले बुटवलबासीको आवश्यकता अनुसार प्राथमिकता निर्धारण गरेर योजना निर्माण गर्न सुझाव दिएका छन् । उनीहरुले संघ, प्रदेश र स्थानीय सरकारका योजनाहरु दोहोरिएको, दोहोरो योजनाका कारण जनतामा अलमल भएकोले स्थानीय सरकारका रुपमा समन्वयकारी भूमिका निर्वाह गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै नगरप्रमुख खेलराज पाण्डेयले बुटवललाई साझा सहरका रुपमा अगाडि बढाउने प्रयास गरिरहेकाले सबै क्षेत्रका बुद्धिजीविहरुको रचनात्मक सुझावको अपेक्षा राखेको बताए । ‘हामी बुटवललाई साझा सहरका रुपमा देशकै अगुवा सहर बनाउन चाहन्छौं, उनले भने–यसमा तपाइँ र तपाइँहरुजस्ता धेरै बुद्धिजीवि र अनुभवी साथीहरुको साथ सहयोग जरुरी छ ।’
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकासमा सबै क्षेत्रको उत्तिकै साथ जरुरी रहेको बताइन् । उनले बुद्धिजीविका सुझाव सल्लाहलाई समेत समेट्दै बुटवलको विकासमा जुट्ने बताइन् ।
कार्यक्रममा कानून व्यवसायी, इन्जिनियर र चिकित्साक्षेत्रका व्यक्तिहरुले आगामी नीति कार्यक्रम र बजेट निर्माणमा बुटवललाई व्यवस्थित सहरका रुपमा स्थापित गर्ने गरी योजना ल्याउन सुझाव दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij