
बुधवार , फाल्गुण २४, २०७९
भैरहवा, २४ फागुन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले महिला श्रमिक र उद्यमीलाई सम्मान गरेको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा नगर क्षेत्रका श्रमिक र उद्यमी महिलालाई सम्मानित गरिएको हो ।
बुधबार भैरहवामा आयोजित कार्यक्रममा प्रोत्साहन स्वरुप ७ महिलालाई सम्मान गरिएको नगर उपप्रमुख उमा अधिकारीले बताइन् ।
नगरपालिकाले प्रोत्साहन स्वरुप आत्मनिर्भर बनेका सिद्धार्थनगर ९ की ब्युटीपार्लर प्रशिक्षक तथा उद्यमी महिला शिलाकुमारी शर्मा, पूर्वेली खुकुरी उद्योग सञ्चालन गर्दै आएकी वडा नम्बर २ की सलुजा सेन्चुरी, बेकरी उद्योग सञ्चालक वडा नम्बर ८ की विष्णुमाया शर्मा पौडेललाई सम्मान गरेको छ ।
यस्तै, अचार उद्योग सञ्चालन गर्दै आएकी वडा नम्बर ३ की महिला उद्यमी कमला दलामी, पान व्यवसायी वडा नम्बर ३ की मेनुका लोहार, ठेलामा व्यापार गरेर आत्मनिर्भर बनिरहेकी वडा नम्बर १ की तारादेवी जैसवाल र महिला श्रमिक एवं ई–रिक्सा चालक वडा नम्बर १२ निवासी विमला रोकालाई नगरपालिकाले सम्मान गरेको हो ।
उनीहरुलाई प्रमाणपत्रले सम्मान गरेर र व्यवसायमा हौसला प्रदान गरिएको उपप्रमुख अधिकारीले बताइन् । सम्मानित महिलाहरुलाई नगरप्रमुख इश्तियाक अहमद खान, उपप्रमुख अधिकारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत चेतनशील लम्साल, लेखा अधिकृत ओमेश कुमार गैरे लगायतले सम्मानपत्र प्रदान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij