
बुधवार , फाल्गुण १०, २०७९
भैरहवा, १० फागुन ।
रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाभित्र निर्माण भइरहेका विकास निर्माण कार्यको स्थलगत निरीक्षण तथा अनुगमन गरेका छन् । मंगलबार उनले रोहिणी–६ पर्सा र रोहिणी–२ स्थित खानेपानी टयांकी निर्माणस्थलको निरीक्षण गरेका हुन् । त्यस्तै अध्यक्ष यादवले रोहिणी–६ पर्सास्थित पशुपति आधारभूत विद्यालयमा निर्माणाधिन भवन र रोहिणी–७ सेमरास्थित निर्माणाधिन कृषि अनुसन्धान केन्द्रको निरीक्षण गरेका छन् ।
अनुगमनका क्रममा उनले निर्माण व्यवसायी तथा इञ्जिनियरहरुलाई गुणस्तरमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । उनले निर्माण भइरहेका स्थानमा अनिवार्य रुपमा सूचना बोर्ड राख्न समेत निर्देशन दिएका हुन् । अध्यक्ष यादवले भने, ‘निर्माण कार्यमा कमसल सामग्री प्रयोग नगर्न निर्देशन दिइएको छ । त्यस्तै कहीकतै कमसल सामग्रीको प्रयोग भएको पाइए कारवाही हुने भन्दै सचेत गराएका छौं । ’
निर्माण कार्य गुणस्तरहीन भए पुनः निर्माण गर्नुपर्ने भनेर पनि सचेत गराइएको अध्यक्ष यादवको भनाइ छ । उनले निर्माण कार्यमा कुनै गुनासो नआउने गरी काम गर्न निर्माण व्यवसायीलाई भनिएको बताए । अनुगमन तथा निरीक्षणमा अध्यक्ष यादवसँग रोहिणी–६ का अध्यक्ष इन्द्रमान चौधरी लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij