२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

जीवनउपयोगी र प्राविधिक शिक्षा आजको आवश्यकता : पूर्वमन्त्री शुक्ला

आइतवार , माघ २२, २०७९

भैरहवा, २२ माघ ।
प्रतिनिधिसभा सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाले जीवनउपयोगी र प्राविधिक शिक्षा नै आजको आवश्यकता रहेको बताएका छन् । उनले परम्परागत शिक्षाले प्रतिष्पर्धायोग्य बनाउन नसक्ने भएकाले प्राविधिक शिक्षालाई जोड दिनुपर्ने बताए ।
रुपन्देहीको मायादेवी गाउँपालिका–७ हाटीबनगाईस्थित श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालयमा आइतबार आयोजित ट्रयाकसुट वितरण कार्यक्रममा बोल्दै सांसद् शुक्लाले शिक्षा र खेलकुदलाई सँगसँगै लैजानुपर्ने बताए ।

मायादेवी गाउँपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा भएको कार्यक्रममा बोल्दै उनले कम्प्युटर शिक्षा आवश्यक रहेकोले विद्यार्थीहरुलाई कम्प्युटरसम्बन्धि ज्ञान दिनुपर्ने बताए । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)का नेता शुक्लाले सोच परिवर्तन गर्न आवश्यक रहेको बताए । उनले भने, ‘विद्यालयले जीवनउपयोगी र प्राविधिक शिक्षामा जोड दिने सके दक्ष जनशक्ति उत्पादन गर्न सकिन्छ । ’

त्यस्तै लुम्बिनी प्रदेशसभा सदस्य सन्तोष कुमार पाण्डेयले शिक्षा, भौतिक पूर्वाधार विकाससँगै खेलाडी उत्पादनमा पनि मायादेवी गाउँपालिका वडा नम्बर ७ अगाडि रहेको बताए । उनले संसदीय विकास कोषबाट विद्यालयलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । लोसपा लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा पूर्व भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका पाण्डेयले आगामी दिनमा पनि विभिन्न नयाँ योजना ल्याइने बताए । उनले भने, ‘आम जनताको समस्या समाधानका निम्ति लागिपर्नेछौं ।’
लुम्बिनी प्रदेशसभा सदस्य हेमा बेल्बासे (के.सी.)ले शिक्षक भन्दा अभिभावकको अझ बढी भूमिका रहने बताइन् । उनले विद्यार्थीहरुलाई अध्ययनसँगै अनुशासनमा पनि जोड दिनुपर्ने बताइन् ।

मायादेवी गाउँपालिकाका अध्यक्ष ध्रुवनारायण चौधरीले गाउँपालिकाले सम्पूर्ण विद्यालयलाई सम्माजनक रुपमा व्यवहार गरेको बताए । उनले भने, विद्यालयको विकासका लागि काम गर्नेछौं ।

मायादेवी गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख नारायण लामिछानेले गाउँपालिकाले शिक्षालाई प्राथमिकता दिएको बताए । उनले शिक्षा राज्यको जिम्मेवारी भनेर अभिभावक पन्छिन नमिल्ने बताए ।

मायादेवी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष शैलेन्द्र कुमार पाण्डेयले सामूदायिक विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई लक्षित गर्दै ट्रयाकसुट वितरण गरिएको बताए । उनले सामूदायिक विद्यालयमा दरबन्दी अनुसार जनशक्ति नहुँदा अपेक्षित रुपमा शैक्षिक गुणस्तर सुधार हुन नसकेको बताए । उनले आफू श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुँदा पनि विद्यालयको विकासका लागि सक्दो कार्य गरेको बताए । मायादेवी गाउँपालिका ७ नम्बर वडाले ३१७ जना विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको विद्यालयका प्रधानाध्यापक रविकान्त उपाध्यायले बताए ।

IMG_6446.JPG

मायादेवी गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडाका अध्यक्ष शैलेन्द्र कुमार पाण्डेयको अध्यक्षता, पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लाको प्रमुख आतिथ्यता, श्री सिद्धार्थ बाल निकेतन केदार पाण्डेय माध्यमिक विद्यालयका प्रअ रविकान्त उपाध्यायको स्वागत तथा शिक्षिका भुमा देवी अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।