
शुक्रवार , माघ २०, २०७९
भैरहवा, २० माघ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रमा कुपोषित बालबालिका हुने सक्ने आशंकामा ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको छ । नगरको वडा नम्बर ३, ५ र १३ ले संयुक्त रुपमा शिविर सञ्चालन गरी ६ महिनादेखि २३ महिनासम्मका बालबालिकाहरुको ‘स्क्रिनिङ्ग’ गर्न सुरु गरेको हो ।
यी तीनवटै वडाले ६ महिना देखि २३ महिनासम्मका बालबालिकाको तौल वृद्धि अनुगमन गरी पोषकतत्व सर्वोत्तम पिठो वितरण गर्ने तथा कुपोषित बालबालिकाहरुको पहिचान ¬(स्क्रिनिङ्ग) का लागि शुक्रबारदेखि वडा नम्बर ३ बाट प्रोत्साहनसहितको नियमित वृद्धि अनुगमन शिविरको शुभारम्भ गरेका छन् । यी तीनवटै वडामा शिविर सञ्चालन हुनेछन् ।
‘केही शिशुहरु कुपोषणको शिकार भएको पाइएपछि हामी तीनवटा वडाका वडाअध्यक्षहरुले संयुक्त रुपमा शिविरको सुरुवात गरेका छौँ’ सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठले भने, ‘यो शिविरले तीनवटै वडावासीहरु लाभान्वित भई शिशुहरुको वृद्धि विकासमा सहयोग पुर्याउने विश्वास लिएका छौँ ।’
‘बच्चा जोखौँ सर्वोत्तम पिठो बोकौँ’ नारासहित शुभारम्भ भएको शिविरमा यी वडाबाहेक नगरका अन्य वडावासीका बालबालिकाहरुमा कुपोषणसम्बन्धि आशंका भए शिविरको लाभ लिन सक्ने उनले बताए ।
शिविरको प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका प्रमुख इश्तियाक अहमद खानले शिशुलाई सर्वोत्तम पिठो उपलब्ध गराएर शुभारम्भ गरे । शिविरको शुभारम्भ गर्दै उनले शिशुहरुलाई पोषिलो खाना खुवाउनुपर्ने निकै आवश्यक रहेको उल्लेख गर्दै विरुवालाई दिनहुँ पानी दिएर हुर्काए झै शिशुहरुलाई पनि पोषिलो खाना खुवाउनेमा कमी नगर्न आग्रह गरे । उनले तीनवटै वडाका जनप्रतिनिधिहरुलाई शिविर सञ्चालन गरेकोमा धन्यवाद व्यक्त गर्दै पोषिलो खानाले शिशु स्वास्थ्य रहने र औषधी उपचारमा आर्थिक भार पनि नपर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले महिला गर्भवती अवस्थामा भएदेखि नै पोषिलो खानामा जोड दिए शिशु पनि स्वास्थय जन्म हुने र कुपोषणको शिकार हुनेबाट जोगिने बताइन् ।
शिविरमा आएका शिशुहरुको नियमित तौल गर्ने, चार सय ग्रामको सर्वोत्तम पिठो उपलब्ध गराउने र आवश्यक परेको अवस्थामा स्वास्थ्य उपचार समेत गरिने बताइएको छ ।
सिद्धार्थनगर–३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्यायले शिशुहरुको वृद्धि विकासका लागि पोषिलो खाना निकै आवश्यक रहेकोमा जोड दिदै बालबालिका स्वास्थ्य रहे मुलुक स्वास्थ्य रहने बताए ।
सिद्धार्थनगर–१३ का वडाअध्यक्ष सोमबहादुर गुरुङले बालबालिकाहरु भविष्यको कर्णधार भएको भन्दै आजका बालबालिकालाई स्वास्थ्य राखे भोली समृद्ध मुलुक बनाउनेमा टेवा पुग्ने बताए ।
सिद्धार्थनगर नगरपलिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले तीनवटा वडाहरुले संयुक्त रुपमा सञ्चालन गरेको शिविरको प्रशंसा गर्दै अगामी आर्थिक वर्षमा यस किसिमका शिविर सञ्चालनका लागि बजेट विनियोजन गरी नगरस्तरीय शिविर सञ्चालन गर्ने बताए ।
एक जनाको शिशुउपर नियमित अनुगमन र स्वास्थ्य उपचारमा ५ देखि १० हजार रुपैयाँ खर्च आउने अनुमान गरिएको वडा नम्बर ३ का आधारभूत स्वास्थ्य केन्द्रका इञ्चार्ज दुर्गा बहादुर थापाले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij