
शुक्रवार , माघ २०, २०७९
तिलोत्तमा, २० माघ ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १४ स्थित दुर्गा माध्यमिक विद्यालयमा बालबालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग प्रश्न गर्ने कार्यक्रम सुरु भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीद्वारा आयोजना गरिएको उक्त ‘विद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रममा सहभागी बिद्यार्थीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई विद्यालय जीवन, संघर्षका कथा, मिहिनेतके फल, इमान्दारिता र विद्यार्थी अनुशासनका बारेमा प्रश्नोत्तर गरेका थिए ।
करिब २ घण्टासम्म चलेको सो कार्यक्रममा प्रतिनिधिमूलक रुपमा ५ जना विद्यार्थीले प्रश्न सोधेका थिए भने प्रश्नको सहजीकरण तथा पुनः प्रश्न नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले गरेका थिए । १० भन्दा बढी संख्यामा रहेका विद्यार्थीले आफ्नो मनमा लागेको कुरा निर्धक्क राखेका थिए । प्रश्न सोध्न नभ्याएका विद्यार्थीले भने आफ्नो प्रश्न लेखेर दिएका थिए ।
विद्यार्थी जीवनमा आइपर्ने समस्या, पारिवारिक अवस्था, विद्यालयको अवस्था, साथीभाइको संगत, सिकाईको व्यवहारिकता, शिक्षासँग जोडिएको स्वास्थ्य, भौतिक अवस्था, बालमैत्री भएपछिको विद्यालयको अवस्था , शिक्षक व्यवहार लगायतको दर्जनौ प्रश्नको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जवाफ दिएका थिए ।
प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफू पनि सामुदायिक विद्यालयबाटै पढेर यहाँसम्म आएको कथा सुनाउँदै मिहिनेत, इमान्दारिता र अनुशासनले नै विद्यार्थी लक्ष्य चुम्न सफल हुन्छन् भन्ने सन्देश दिएका थिए ।
कार्यक्रम अन्तर्गत सम्पूर्ण सामूदायिक विद्यालय र त्यसपछि निजी विद्यालयमा समेत सो कार्यक्रम लैजाने कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताए । उनले विद्यार्थीको वास्तविक समस्याको समाधान गर्न र तिनीहरुलाई व्यवहारिक ज्ञानसँगै मोटिभेसनल कक्षाका लागि सो कार्यको थालनी गरिएको बताए । कार्यक्रममा दुर्गा माविका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकहरु ल्गायतको उपस्थिति रहेको थियो।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij