२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सियारीको १२ औं गाउँसभाबाट ५ वटा विधेयक पारित 

शुक्रवार , माघ ६, २०७९

भैरहवा, ६ माघ । 
रुपन्देहीको सियारी गाउँपालिकाको १२ औं गाउँसभा विभिन्न विधेयकहरु पारित गर्दै सम्पन्न भएको छ । पुस २९ गतेदेखि सुरु भएको गाउँसभा विभिन्न पाँचवटा विधेयकहरु सर्वसम्मतिले पारित गर्दै सम्पन्न भएको हो । 

गाउँपालिका अध्यक्ष तथा १२ औं गाउँसभाका सभाध्यक्ष थानेश्वर घिमिरेले पालिका सञ्चालनका लागि आवश्यक विधेयकहरु सर्वसम्मतिले पारित भएको जानकारी दिए । उनले गाउँसभामा पेश भएका पालिकाको लागि आवश्यक कानून निर्माण तथा संशोधनसहितका विधेयक पारित भइ आजैदेखि लागू भएको बताए ।

उनकाअनुसार सियारी गाउँपालिकाको संस्था दर्ता तथा नियमन सम्बन्धी विधेयक, २०७९, आर्थिक ऐन २०७९ मा संशोधन गर्न बनेको विधेयक, २०७९, सियारी गाउँपालिकाको नगर प्रहरी ऐन २०७६ मा संशोधन गर्न बनेको विधेयक २०७९, सियारी गाउँपालिकाको शिक्षा ऐन २०७४ मा संशोधन गर्न बनेको विधेयक २०७९ र सियारी गाउँपालिका लेखा समिति (कार्य सञ्चालन) कार्यविधि २०७९ पारित भएका छन् । 

सभामा बोल्दै अध्यक्ष घिमिरेले पालिकाको विकासका लागि सम्पूर्ण जनप्रतिनिधि र कर्मचारी एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले विकास निर्माणका कामलाई जनताले अनुभुति हुने गरी सम्पन्न गर्न लागिएको बताउँदै सबैले आ–आफ्नो क्षेत्रबाट आवश्यक सहयोग गर्नुपर्नेमा जोड दिए । 

गाउँपालिकाकी उपाध्यक्ष तारा थारुले आफुहरु निर्वाचित भएर आए लगत्तै वर्षायाम लागेको, त्यसपछि निर्वाचन लगायतका कामले गर्दा काम गर्न ढिलाइ भएकोले अबको समय विकास निर्माण र जनताको सेवाका लागि छुट्टाएको बताइन् । उनले समृद्ध सियारी र खुसी सियारीवासी बनाउने अभियानमा आफूहरु लागिपरेको बताउँदै त्यसका लागि सबैको एकता र सहकार्य जरुरी रहेको बताइन् । 

सभामा बोल्ने वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले सियारीको समृद्धिको लागि काम गर्नुपर्नेमा जोड दिए । उनीहरुले सियारी गाउँपालिकाको अधिकांश क्षेत्र कृषि क्षेत्र भएकाले कृषकको हितलाई ध्यानमा राखेर नीति तथा योजना तर्जुमा गर्नुपर्नेमा जोड दिदै सिंचाई लगायतका क्षेत्रमा बजेट बढाउँदै जानुपर्नेमा जोड दिए । 

siahahfgahj.jpg


सभामा वडाअध्यक्षहरु शेरबहादुर गुरुङ, दीपक बहादुर शाही, वडा सदस्य तथा कार्यपालिका सदस्यहरु भुम प्रसाद रेग्मी, सन्तोष शर्मा भुसाल, ओमप्रकाश थापा, अनजु रोका, दीपलाल केवट लगायतले सियारीलाई शिक्षा, स्वास्थ्य र पूर्वाधार विकाससँगै कृषिका क्षेत्रमा पनि काम गर्ने बताए ।