
मंगलवार , माघ ३, २०७९
भैरहवा, ३ माघ ।
रुपन्देहीको रोहिणी गाउँपालिकामा मेयर कप क्रिकेट प्रतियोगिता–२०७९ मंगलबारदेखि सुरु भएको छ । स्थानीयस्तरमा नयाँ–नयाँ खेलाडी उत्पादन गरी समग्र क्रिकेट खेलको विकास, स्थानीयस्तरमा रहेका क्रिकेट खेलाडीको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा नमो बुद्ध युवा क्लब रोहिणी–६, रुपन्देहीको आयोजनामा मेयर कप प्रतियोगिता सुरु भएको हो ।
माघ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिका अन्तर्गतका ७ वटै वडा र एउटा कर्मचारीको टीम गरी ८ वटा स्थानीय टीमको सहभागितामा वडा नम्बर ३ स्थित स्वामीनगर, धकधईमा रहेको रामनरेश माविको खेल मैदानमा प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक रुपेश कुर्मीले बताए ।
प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नारालाइ आत्मसात गर्दै शिक्षासँगै खेलकुदलाई पनि प्राथमिकता दिदै रुपन्देही क्रिकेटको उर्वरभूमि रहेकोले नयाँ खेलाडी उत्पादन गर्न सहयोग पुगोस् भन्ने हेतुले मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिएको बताए । क्रिकेटप्रति युवाहरुको रुची बढ्दो भएकाले सोहीअनुसार युवालाई प्रोत्साहन गर्न र खेल क्षेत्रको विकासका लागि गाउँपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरेका उनको भनाइ छ ।
गाउँपालिकामा क्रिकेट प्रेमी र खेलाडीहरु पनि प्रशस्त भएकोले उनीहरुको अभ्यास र क्षमता बृद्धिका लागि मौका पनि यस्तै प्रतियोगिताबाट हुने भएकाले यसलाई निरन्तरता दिँदै क्रिकेटको विकासमा सहयोग गर्न गाउँपालिका सकारात्मक रहेको अध्यक्ष यादवले बताए ।
रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का अध्यक्ष वीर बहादुर क्षेत्रीले गाउँपालिकाले यसअघि कुस्ती प्रतियोगिता सम्पन्न गरिसकेको बताए । उनले गाउँपालिकाले प्रत्येक युवा तथा अभिभावकलाई अवसर प्रदान गरेको बताए । उनले भने, ‘युवाहरुको प्रतिभा प्रस्फुटन गर्न यस्ता प्रतियोगिताले मद्दत पुर्याउँछ । ’
रोहिणी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष करम हुसेन खाँले आगामी दिनमा क्रिकेटसँगै अन्य प्रतियोगिताहरु सञ्चालन गर्ने बताए । उनले युवाहरुले प्रतियोगितामार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाएको बताए ।
रोहिणी गाउँपालिकाका प्रवक्ता वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, वडा नम्बर २ का वडाअध्यक्ष करम हुसेन खाँको स्वागत तथा दिनेश कुमार मौर्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शिवकान्ति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतम, योजना शाखा प्रमुख राजकुमार मिश्रा, लेखा सहायक प्रकाश पछाई लगायतको उपस्थिति रहेको थियो ।
मंगलबार भएको उद्घाटन खेलमा रोहिणी–१ ले रोहिणी–३ लाई ८ विकेटले पराजित गर्दै जित निकालेको छ । टस हारेर ब्याटिङ पाएको रोहिणी–३ ले निर्धारित १५ ओभरको खेलमा १४ दशमलव २ ओभरमै सबै विकेट गुमाई १ सय १७ रन जोडेको थियो । जसका लागि विवेकले ३३, शिवले १८ र विहारीले १४ रनको योग्दान गरे । वलिङतर्फ अफसरले ३, धिरुले २ विकेट लिए ।
११८ रनको लक्ष्य पाएको रोहिणी–१ ले ८ ओभर ३ बलमै लक्ष्य पार गरी जित निकाल्यो । ३ विकेटकै क्षतिमा जीत निकालेको रोहिणी–१ का लागि अबरारले ६५, अफसरले १९ र धिरुले १८ रनको योग्दान गरे । उद्घाटन खेलको म्यान अफ द म्याच अबरार भएको प्रतियोगिताका संयोजक कुर्मीले जानकारी दिए ।
१५ ओभरमा समूह ए र बी गरी २ समूहमा विभाजन गरी लिग चरणमा प्रतियोगिता हुनेछ । ४–४ वटा टिमबीच ३–३ वटा प्रतियोगिता गराइनेछ । प्रतियोगितामा प्रथम पुरस्कार ६० हजारसहित ट्रफी र प्रमाणपत्र दिइनेछ भने द्वितीय पुरस्कार ३० हजार, तेस्रो र चौथोलाई समान १५–१५ हजार दिइने आयोजकले जनाएका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij