
आइतवार , माघ १, २०७९
भैरहवा, १ माघ ।
स्थानीय कला, संस्कृति एवं खेलकुदलाइ प्रवद्र्धन गर्ने उद्देश्यले रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर ६ स्थित नरैनापुरमा आइतबारदेखि चौथो ओमसतिया कला संस्कृति महोत्सव–२०७९ सुरु भएको छ । माघ ५ गतेसम्म चल्ने उक्त महोत्सवको आइतबार प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री छविलाल विश्वकर्माले उदघाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै सांसद् विश्वकर्माले मेला आयोजनास्थलको मैदानलाई गुरुयोजना बनाइ रंगशालाको रुपमा विकसित गर्न आग्रह गरे । यसको पहल गाउँपालिकाले गरे आफुले सक्दो सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । यो क्षेत्रमा विकास निर्माणका काम जारी रहेकोले यसको गुणस्तरीयताको लागि सबैको अपनत्व लिन उनले आग्रह गरे ।
नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका नेता विश्वकर्माले लुम्बिनी प्रदेशको मुख्यमन्त्री रुपन्देहीका लिला गिरी बनेसँगै अब यस क्षेत्रमा विकास निर्माणले फडको मार्ने उनले बताए । पहिलो कार्यकालमा यस क्षेत्रमा रहेका अधुरा योजनाहरुलाई पूरा गर्ने आफ्नो प्राथमिकतामा रहेको विश्वकर्माको भनाइ छ । उनले यी सबैको विकासको लागि तीनै तहको सरकारबीच समन्वय आवश्यक रहेको बताए । उनले एकले अर्कालाई निषेध गरेर नभइ सबैको सहकार्यमा अगाडि बढनुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा बोल्दै ओमसतिया गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले गाउपाँलिकामा हुने यस्तो प्रकारको कार्यक्रमलाइ पालिकाले अपनत्व लिने बताए । उनले संस्कृति एवं खेलकुदको संरक्षणमा लगानी गर्न तयार रहेको स्पष्ट पारे । भौतिक पूर्वाधारको विकाससँगै संस्कृति एवम खेलकुदको विकास पनि अपरिहार्य रहेको बताउँदै उनले स्थानीय स्तरमा रहेका कलाकारहरु एवं खेलाडीहरुको मनोभावनालाई उच्च बनाउन पालिका लागिपरेको जिकिर गरे । यसको लागि पालिकाको प्रयास मात्र प्रयाप्त नभइ सबैको सहयोगको पनि उत्तिकै आवश्यक रहेको उनले बताए । गाउँपालिकाको समग्र विकासको लागि गाउँपालिकाबासीको रचनात्मक सुझावको सधै खाँचो रहने उनले बताए ।
रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले लोप हुन लागेको पराम्परालाई ओमसतिया गाउँपालिकाले जोगाउन पहल गर्नु सराहनीय रहेको बताए । उनले रोहिणी र ओमसतिया गाउपालिका मिलेर यस क्षेत्रको विकासमा लागेको बताए । सबै समुदायको धर्म संस्कृतिको रक्षा गर्दै दुवै पालिका अगाडि बढे मात्र संघीयताको मर्म पूरा हुने यादवले जिकिर गरे ।
महोत्सवमा माघ १ देखि ३ गतेसम्म कुस्ती महामुकाबला प्रतियोगिता, ५ गतेसम्म झुमडा तथा टिकटक स्टारहरुको प्रतियोगिता, अन्तरविद्यालय नृत्य प्रतियोगिता तथा बेलुका ६ बजेदेखि बिराहा साँस्कृतिक कार्यक्रमका साथ राष्ट्रिय कलाकारहरुको प्रस्तुती हुने आयोजक समितिका संयोजक तथा ओमसतिया गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष शिव कुमार धवलले बताए । नरैनापुर रंगशालामा सुरु भएको महोत्सवमा स्थानीय उत्पादनहरुको प्रदर्शन तथा विक्री, कृषि प्रदर्शन, खाना उत्सव, माघीको अवसरमा खिचडी उत्सव तथा थारु संस्कृति झल्कने कार्यक्रम समेत राखिएको छ । कार्यक्रममा प्रवेश निःशुल्क हुने तथा स्टल राख्न चाहनेहरुले समेत कुनै शुल्क तिर्न नपर्ने आयोजकले बताएका छन् ।
श्री रामजानकी मन्दिर रंगशाला सभाहल व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार धवलको अध्यक्षता, सांसद् छविलाल विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा ओमसतिया गाउँपालिका उपाध्यक्ष सुनिता चौधरी, प्रवक्ता मदन प्रसाद पोख्रेल, पूर्व वडाअध्यक्ष चन्नर प्रसाद यादव, इन्द्र कुमार यादव लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन इन्द्रजित यादवले गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij