२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

भीम अस्पतालमा पहिलोपटक टोटल एब्डोमिनल हिस्टेरेक्टोमी अपरेशन

बुधवार , पौष ८, २०७७

भैरहवा, ८ पुस । 
भैरहवास्थित भीम अस्पतालमा पहिलोपटक टोटल एब्डोमिनल हिस्टेरेक्टोमी मेजर सर्जरी (टीएच) नामक शल्यक्रिया (अपरेशन) गरिएको छ । अस्पतालका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताको नेतृत्वमा डा. शैलजा घिमिरे, डा. भुवन ओझा, डा. सुमित प्रजापति र एनेस्थेसिया डा. सेमन्त दाहाल तथा नर्सिङ र पारामेडिक्स टोलीले शल्यक्रिया पूर्ण रुपमा सफल पारेका छन् ।

शल्यक्रिया गरिएको विरामीको पूर्ण रुपमा होस आइ क्याबिनमा उपचाररत रहेको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले बताए । अस्पतालको लागि यो शल्यक्रिया सफल हुनु ऐतिहासिक कार्य भएको मेसु डा. गुप्ताले बताइन् । त्यस्तै विरामीको उपचारमा संलग्न सम्पूर्ण टोलीका सदस्यलाई उनले धन्यवाद व्यक्त गरिन् । आगामी दिनमा भीम अस्पतालले यो सेवालाई वृहत रुपमा सञ्चालन गर्ने योजना रहेको समेत उनले बताइन् ।

टीएचमा विशेष रुपमा पूर्णतया महिलाको पाठेघर निकालिन्छ । यो शल्यक्रियामा महिलाको तल्लो पेटमा इन्सिजन दिएर पाठेघर निकालिन्छ । ५२ वर्षिय भैरहवाको बर्मेलीटोल निवासी महिलाको डी.युबी–ननरेसपोन्सिभ टु नरमल थेरापीको लागि शल्यक्रिया भएको अस्पतालले जनाएको छ ।