२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थनगरको विकासका लागि जापानसँग छलफल

बुधवार , पौष १३, २०७९

कानपुर, (भारत), १३ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र जापानबीच नगरपालिकामा विकासका योजनाहरु संचालनका लागि छलफल भएको छ । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानको नेतृत्वमा भारत भ्रमणमा रहेको टोलीले शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकासका लागि जापानसँग छलफल भएको हो ।

सिद्धार्थनगरको तर्फबाट प्रमुख इश्तियाक अहमद खान, उपप्रमुख उमा अधिकारी, इञ्जिनियर विष्णु प्रसाद पन्थी, सब‐इञ्जिनियर चेतनारायण ज्ञवाली, नगर प्रमुखका स्वकीय सचिव (इञ्जिनियर) बरकत बादशाह शेख लगायत र जापनका तर्फबाट संसदीय उपरक्षा मन्त्री फूजीमारु सातोशी, पूर्व आइटी मन्त्री एवं आर्थिक तथा औद्योगिक विकास संसदीय समितिका संस्थापक अध्यक्ष (वर्तमान अध्यक्ष समेत) नाओकाजू ताकेमोटो, आर्थिक तथा औद्योगिक विकास संसदीय समितिका सल्लाहकार मोहम्मद जाबेद खान, जापानका विशेष सल्लाहकार अब्दुल रहमान खानबीच विकासका योजनाहरु सञ्चालनका लागि भारतको उत्तर प्रदेशमा छलफल भएको छ ।

सिद्धार्थनगर नगरपालिकामा विकासका योजनाहरु सञ्चालनका लागि जापानसँग भएको छलफल सकारात्मक भएको नगरप्रमुख खानले बताए । ‘हामीले जापानसगँ शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रमा विकास गर्नका लागि छलफल गरेका छौँ’ उनले भने, ‘उहाँहरु यस विषयमा सकारात्मक हुनुहुन्छ ।’

संसदीय समितिका सल्लाहकार मोहम्मद जाबेद खानले सिद्धार्थनगर नगरपालिकामा विकासका आफूहरुले पूर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

जापानलाई कुनै पनि क्षेत्रमा विकास गर्न समस्या नपर्ने भन्दै सिद्धार्थनगरलाई आवश्यक शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पूर्वाधार लगायत क्षेत्रमा जापानको आर्थिक तथा औद्योगिक विकास संसदीय समितिले सहयोग गर्ने उनले बताए ।

‘जापानले भारतको उत्तर प्रदेशमा ठूला परियोजना सञ्चालन गर्न लागेको छ र अब नेपालको सिद्धार्थनगरमा पनि विकासका लागि सहयोग हुनेछ’ भाषा अनुवादक समेत रहेका सल्लाहकार खानले भने, ‘यसले नेपाल‐जापानको सम्बन्ध थप उचाईँ पुर्याउन मद्दत पुग्नेछ ।’

यस्तै सिद्धार्थनगरको विकासका लागि नगरपालिकाको टोलीले कानपुर भारतीय राष्ट्रिय कांग्रेसका वरिष्ठ नेता फजल हुसैन खानसँग पनि भेटवार्ता गरेको छ । वार्तामा खानले पनि सिद्धार्थनगरको विकासका लागि आफूले हरप्रयास गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले भ्रमणको क्रममा भएको छलफललाई सार्थकता दिनलाई नगरपालिकाले गृहकार्य सुरु गर्ने बताइन् । उनले जापानसगँको छलफलले नगरपालिकामा ठूला योजना संचालन गरिने र त्यसका लागि छलफल गरेर अघि बढ्ने बताइन् ।