
शनिवार , पौष ४, २०७७
काठमाडौं, ४ पुस ।
आफ्ना नागरिकहरूलाई खोपको प्रयोगका लागि प्रोत्साहन गर्ने उद्देश्यले अमेरिकी उपराष्ट्रपति माइक पेन्स तथा उनकी श्रीमतीले कोभिड–१९ विरुद्धको खोप सेवा लिएका छन् । अमेरिकी नागरिकमा खोप प्रयोगका लागि आकर्षण र आत्मविश्वास बढाउनका लागि उपराष्ट्रपति र उनका परिवारलाई दिइएको उक्त खोपको दृष्य अमेरिकी टेलीभिजनहरूले प्रत्यक्ष प्रशारण गरेका थिए ।
ह्वाइट हाउसमा खोप लिएपछि अमेरिकी उपराष्ट्रपति पेन्सले भने—कोभिड–१९ विरुद्धको खोप प्रयोगका लागि सर्वसाधारणमा खोप प्रतिको आकर्षण र आत्मविश्वास बढाउन मैले यो सेवा सुरुमा नै लिएको छु । कोभिडविरुद्धको खोपको प्रयोगपछि म सामान्य नै छु मलाई शरीरमा कुनै फरकपन महसुस भएको छैन । म सबै अमेरिकी नागरिकलाई खोप लिन आग्रह गर्दछु ।
अमेरिकी नागरिकहरु कोभिड–१९ विरुद्धको खोपप्रति अझै पूर्ण रुपले विश्वस्त हुन नसकिरहेको कतिपय एजेन्सीहरुले गरेको सर्वेक्षणले देखाएको थियो । अमेरिका विश्वकै सबैभन्दा बढी व्यक्ति कोभिड–१९ बाट संक्रमित भएका छन् भने त्यहाँ कोभिड संक्रमित करिब तीन लाख १८ हजार मानिसको मृत्यु भइसकेको छ । संक्रमणका हिसाबले अमेरिका, ईटली, भारत, ब्राजिल, रूस, फ्रान्स र स्पेन विश्वका बढी प्रभावित मुलुक हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij