२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

कोरोनाको खोप एसियामा आउन एकवर्ष लाग्न सक्छ : विश्व स्वास्थ्य संगठन

शुक्रवार , पौष ३, २०७७

काठमाडौं, ३ पुस । 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले एसिया प्रशान्त क्षेत्रमा कोरोनाविरुद्धको खोप आउन अझै एकवर्षसम्म लाग्न सक्ने आंकलन गरेको छ । डब्लुएचओले यस क्षेत्रमा तत्काल खोप पाउने सम्भावना कम रहेको र कम्तिमा ६ महिनादेखि एक वर्षसम्म लाग्न सक्ने बताएको हो । ढिला आउनुको कारणमध्ये एउटा मुख्य कारण खोपको विकास र प्रभावकारिताको अवस्था अझै पनि परीक्षणकै क्रममा रहनु हो । 

त्यसै गरी त्यसको उत्पादन, गुणस्तर व्यवस्थापन र सवैलाई ठाउँ ठाउँमा पुर्याउने कुरा अर्को चुनौतीको विषय रहेको संगठनले जनाएको छ । डब्लुएचओका क्षेत्रीय निर्देशक डा. ताकेशी कासाइले इन्डोनेसियाको राजधानी जाकार्तामा पत्रकारहरुसँगको कुराकानीका क्रममा यस क्षेत्रमा खोप आउन ढिला हुने बताएका हुन । निर्देशक कासाइले भने-कतिपय देशहरुले खोप ल्याउनका लागि सम्झौता गरेका छन् तर अधिकांश देशले अझै पनि सुरु गर्न सकेका छैनन, उनीहरुले सन् २०२१ को मध्य तथा अन्त्यतिर मात्रै ल्याउन सक्ने देखिन्छ । 

निर्देशक कासाइले अति उच्च जोखिममा रहेकाहरूलाई प्राथमिकता दिइने भएकाले उनीहरूले मात्रै पहिला पाउने बताए । यद्यपी स्वास्थ्यसम्बन्धी निकायहरुले सबैलाई खोप लगाउँदैमा कोरोनाको महामारी नरोकिने बताउने गरेका छन् । सरकारहरूले लामो समयका लागि अहिलेकै जस्तै सतर्कता अपनाइरहनु पर्ने देखिन्छ । खोप उत्पादक कम्पनी र देशले आफ्नो मुलुकमा सबैलाई लगाईसकेपछि मात्र अन्य देश र संस्थाहरुलाई दिने बताउँदै आएका छन् ।