
बुधवार , पौष १, २०७७
बुटवल, १ पुस ।
लायन्स क्लब अफ बुटवल स्टार्सले बुधबार भैरहवास्थित भीम अस्पताललाई ब्लड सेल काउन्ट (हेमाटोलोजी एनालाईजर) मेशिन हस्तान्तरण गरेको छ ।
रगत परीक्षणका विभिन्न विधि भए पनि यो मेशिनको प्रयोग गरी प्लेटलेट, आरबिसी काउन्ट, पिसिभी लगायतका परीक्षण गर्न मिल्ने र यो उपकरण भैरहवाको भीम अस्पतालमा नभएको थाहा भएपछि हस्तान्तरण गरिएको क्लबका अध्यक्ष शुशिल पाण्डेले बताए । यो उपकरणको मुल्य ६ लाख ५० हजार रहेको पाण्डेले जानकारी दिए ।
भीम अस्पतालमा यस किसिमको उपकरण नहुँदा बिरामीहरुलाई रगतको विभिन्न थरीको परीक्षण गर्न समस्या भइरहेकोमा यो उपकरण प्राप्त भएपछि धेरै सजिलो हुने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपाल का पाष्ट डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठले अस्पतालका मेसु डा. गुप्तालाई मेशिन हस्तान्तरण गर्दै अप्ठेरो अवस्थामा लायन्स क्लबको सक्दो सहयोग सदैव उपलब्ध रहदै आएको बताए ।
त्यस्तै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपाल स्ट्राटेजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले लायन्स क्लब अफ बुटवल स्टार्सले स्थापनाको छोटो समयमै राम्रो काम गरेको बताउँदै भीम अस्पताललाई प्रदान गरिएको उपकरणले अस्पतालमा उपचारका लागि आउने बिरामीहरुलाई थप सजिलो हुने बताए ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का इभ्यालुशन टिम हेड विनोद खरेल, एरिया ४ का प्रमुख सन्दिप कशौधन, रिजन चेयरपर्सन आशिष कृष्ण श्रेष्ठ, जोन चेयरपर्सन एमएल पाण्डे लगायतले क्लबले वर्तमान कोभिड–१९ को महामारीका बाबजुद सामाजिक कामलाई निरन्तरता दिनु अहिले ठुलो उपलब्धी रहेको बताएका थिए ।
क्लबका अध्यक्ष शुशिल पाण्डेको सभापतित्व, कार्यक्रम संयोजक राम बहादुर शाहीको स्वागत तथा सचिव भुपेन्द्र अर्यालको संचालनमा सम्पन्नकार्यक्रममा अस्पतालका ल्याब इञ्चार्ज आशिष श्रेष्ठले हेमाटोलोजी एनालाईजर मेशिनको बारेमा जानकारी गराएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij